गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ९ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रम गरी ९ थान कम्प्युटर र ६ थान प्रिन्टर वितरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरूलाई प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे ।


माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को ‘अध्यक्ष विकास कार्यक्रम’ अन्तर्गत कम्प्युटर र प्रिन्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चौहाले बताए । गाउँपालिकाले माङसेबुङ गाउँपालिका–१ स्थित मण्डिका आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका–२ स्थित खाम्नुवा आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका–३ स्थित बालद्विप आधारभूत विद्यालय र पवित्रा आधारभूत विद्यालयलाई कम्प्युटर र वटा प्रिन्टर वितरण गरेको हो ।


यस्तै माङसेबुङ गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका–५ स्थित जयश्वरी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका–६ स्थित सिंहदेवी आधारभूत विद्यालय र माङमालुङ आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो ।


आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने उद्देश्यले सामग्री वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए । ‘सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको हो’, खतिवडाले भने, ‘कतिपय विद्यालयमा यसअघि नै कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ, बाँकी विद्यालयमा समेत आगामी दिनमा वितरण गरिनेछ ।’ यसले सामुदायिक विद्यालयहरूलको लेखा तथा जिन्सी सामग्री व्यवस्थापनमा मद्दत पुग्ने विश्वास रहेको उनले बताए ।


माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्गको हिउँदे सभाले आधारभूत विद्यालयमा कम्प्युटर र प्रिन्टर खरिदका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया