डेंगु रोगको आतंक

केही हिमाली क्षेत्रलाई छाडेर मुलुकभर डेंगु रोगको संक्रमण फैलिएको छ । यो रोगको संक्रमणबाट अहिलेसम्म कतिको ज्यान गयो यकिन तथ्यांक आएको छैन । मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने डेंगु रोगको संक्रमणबाट दुई महिनाको यो अवधिमा दुई सयभन्दा बढीको ज्यान गएको छ । बिरामीको संख्या लाखौँ पुगेको छ । चिकित्सकहरूका अनुसार डेंगु प्राणघातक रोग नभए पनि कमजोर शारीरिक अवस्था भएका व्यक्ति तथा अन्य रोगीलाई डेंगुले आक्रमण गर्यो भने ज्यान जाने सम्भावना रहन्छ । यो रोगको सबैभन्दा खतरनाक पक्ष भनेको छिटै र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नु हो । केही साताअघि भरतपुर तथा बुटवल क्षेत्रका अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूसमेत डेंगु रोगबाट पीडित बनेको समाचार आएको थियो । हुँदा–हुँदा यो रोग राजधानी काठमाडौंका अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीमा फैलिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका दुई चिकित्सक तथा ११ जना कर्मचारीलाई डेंगु रोगले आक्रमण गरेको पुष्टि भएको छ । अन्य अस्पतालका डा. तथा चिकित्सकहरूको अवस्था भने बाहिर ल्याइएको छैन । जुन–जुन अस्पतालमा डेंगु रोगका बिरामीहरू उपचारका लागि पुगेका छन्, ती–ती अस्पतालका चिकित्सक तथा कर्मचारीहरू डेंगु रोगको चपेटामा पर्नु भनेको खतरनाक संकेत हो ।

घना बस्ती रहेको राजधानी काठमाडौंमा डेंगुरोग महामारीका रूपमा फैलिसकेका कारण उच्च सतर्कता अपनाउनु जरुरी भइसकेको छ । सामान्यतया यो रोगको स्रोत भनेको दिउँसोमा सक्रिय हुने लामखुट्टे हो । लापरबाहीपूर्वक पालिएका सुँगुर तथा बुंगुरहरूमा डेंगु रोगका किटाणु हुन्छन् । यस्ता सुँगुर तथा बुंगुरहरूलाई टोकेका लामखुटेले मानिसलाई टोकेमा डेंगु रोग सर्छ । डेंगु रोगले संक्रमण गरेको व्यक्तिलाई टोकेका लामखुट्टेहरूले अरू व्यक्तिलाईसमेत यो रोग सार्दै जान्छन् । यसैगरी, डेंगु रोग लागेका बिरामीहरूको सम्पर्कमा आउने अन्य व्यक्तिलाई पनि यो रोग सजिलै सर्छ । सुरुवातमा डेंगु रोगको लक्षण र सामान्य रुघाखोकीको लक्षण एउटै हुने भएकोले मानिसले खासै वास्ता गर्दैनन्, तर यतिञ्जेल सम्ममा यो रोग परिवारका अन्य सदस्यलाई पनि सरिसकेको हुन्छ । साथै, छरछिमेकीलाई पनि सरिसकेको हुन्छ । स्कुलमा एउटा विद्यार्थीलाई डेंगु रोगले आक्रमण गरेको छ भने अरू विद्यार्थीलाई पनि सजिलै सर्ने भइहाल्यो । सार्वजनिक यातायातका साधनमा पनि मान्छे कोच्ने प्रचलन छ । यसरी कोचिएकामध्ये एउटालाई डेंगु रोग लागेको छ भने अरूमा सजिलै सर्छ ।

डेंगु रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्यांकी आदिमा यस्ले फुल पार्दछ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेंगु रोगविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । त्यसैले, यी लक्षण देखिना साथ अस्पताल जानुपर्छ । भिडभाडमा जानु हुन्न । अरूलाई सर्न सक्छ भन्ने कुरामा सर्तक हुनु जरुरी छ । यो रोग फैलन नदिनका लागि सरकारले जनचेतनामूलक कार्यक्रम ल्याउनु जरुरी छ ।

प्रतिक्रिया