नयाँ युगमा नेपाली पौडी

कमजोर भौतिक संरचना, खेलाडीको हकहित माथिको धावा तथा प्रशिक्षकको अधिकार आफैँले दुरुपयोग गरेर संघ चलाएको आरोप लागेका नेपाल पौडी संघका अध्यक्ष ईश्वर बज्राचार्यको कार्यकाल सकिएको छ । गत साताको अन्त्यमा ललितपुर सातदोबाटोमा भएको साधारणसभाले जगतमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्षमा आफू निरन्तर रहने दाबी गर्दै आएका निवर्तमान अध्यक्ष अशोक बज्राचार्य साधारणसभाको मत आफ्नो पक्षमा नरहने निश्चित देखिएपछि अध्यक्षमा उम्मेद्वार नहुने निर्णयमा पुगेका हुन् । एक दिन अघिसम्म उनी अध्यक्षको दाबेदारको रूपमा रहेका थिए ।

२०८० को २ साउनमा सदस्यसचिवस्तरीय निर्णयबाट पौडीको तदर्थ कमिटी गठन भई ३ महिनाभित्रमा निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद्ले सर्कुलर जारी गरेको थियो । त्यसका बाबजुद लामो समयसम्म अधिवेशन नभए पनि ८ वैशाखका दिन भने सबै प्रतिनिधिहरूको चाहनाका कारण पौडी संघको अधिवेशन भएको हो । सो अधिवेशनले जगतमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । लामो समयसम्म नेपाली पौडी बन्दी अवस्थामा रहे पनि अबका दिनमा त्यसले सही बाटो लिने विश्वासमा धेरै जना छन् ।

साधारणसभाले पूर्व मुख्य प्रशिक्षक ईश्वर कार्कीलाई महासचिवमा चयन गरेको छ । नयाँ कार्य समितिसँगै नेपाली पौडी नयाँ गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा जुनाकुमारी कठायत, चित्रराज भट्ट र गंगालाल सिँगार, निर्वाचित भए । त्यस्तै सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले निर्वाचित भए भने कोषाध्यक्षमा दिलीप वैद्य र सह कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा दीपक सागर सिंह, विकास शर्मा, कुमार गिरी, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनीश महर्जन, उमेश प्रधान तथा सिरिस गुरुङ निर्वाचित भएका छन् ।

विगतमा काठमाडौं केन्द्रित पौडी संघ अहिले देशभरि फैलिएको छ । वरिष्ठ उपाध्यक्ष भट्टराई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव हुन् । महासचिव कार्की सिन्धुपाल्चोकका हुन् । कार्की पौडीका पूर्व मुख्यप्रशिक्षकसमेत हुन् । कार्कीका ४ छोराछोरी नै राष्ट्रिय खेलाडी हुन् । हालका महासचिव कार्कीका छोरीहरू करिश्मा कार्की र कृष्टिना कार्कीले श्रीलंकामा भएको १०आँै दक्षिण एसियाली खेलकुदमा रिलेमा पदक जितेका थिए । काठमाडौँमा भएको पाँचौँ राष्ट्रिय खेलकुदमा करिश्माले १२ स्वर्ण पदक जितेकी थिइन् । करिश्मालाई नेपालकै पौडी पुलमा अभ्यास गरेर सबैभन्दा धेरै सफलता पाउने खेलाडीको रूपमा चिनिन्छिन् । सुदूरपश्चिमले २ उपाध्यक्ष पाएका छन् । सिद्धराज भट्ट र जुनाकुमारी कठायत सुदूरपश्चिमका हुन् । सचिव रामेछापमा गंगालाल गोले र बाराका रञ्जन भट्टराई निर्वाचित भएका हुन् ।

महासचिव कार्कीले पारदर्शी आफूहरूको पहिलो प्राथमिकता भएको बताए । उनले विगतमा उठेका आर्थिक अपारदर्शीताको मुद्दा अबको दिनमा पौडीमा नरहने बताए । साथै उनले अन्तर्राष्ट्रिय निकायबाट आउने सहयोगमा पनि पारदर्शी रहने बताएका छन् ।

त्यसो त नेपाली पौडीमा यावत समस्या नभएका होइनन् । काठमाडौँभन्दा बाहिर पौडी पुलको अभाव छ । नियमित प्रतियोगिता आयोजना हुने गरेको छैन ।

वल्र्ड अक्वाटिक्सबाट आउने गरेको वार्षिक २५ हजार डलरको सही उपयोग गर्दै कार्यालय व्यवस्थापन चुस्त रहने पनि महासचिव कार्कीले बताए ।
त्यसो त पदीय दुरुपयोग नै पौडीको मुख्य समस्या हो । विगतमा महासचिव रहेका बज्राचार्य प्रशिक्षकको रूपमा समेत ओलम्पिकमा सहभागी भएका थिए । सन् २००८ मा बेइजिङमा गृष्मकालीन ओलम्पिकमा बज्राचार्य आफैँ प्रशिक्षकको रूपमा सहभागी थिए । उनी ४२ वर्षदेखि विभिन्न भूमिकामा पौडी संघमा रहेको जनाइएको छ ।

दक्षिण एसियामा पौडी कमजोर भएकाले क्षेत्रीय रूपमा केही सफलता देखिए पनि नेपाली पौडी त्यसभन्दा बाहिर प्रतिस्पर्धा गर्न लायक नै छैन । यस सवालमा लामो अभ्यासपछि मात्र यो सबै सम्भव हुने जनाइएको छ ।

प्रतिक्रिया