कुम्मायक कुस्सायक त्रिशाली गोल्डकपको उपाधि पाँचथर क्लबलाई

पाँचथर । जिल्लाको दक्षिण कुम्मायक गाउँपालिकामा जारी कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको उपाधि पाँचथर फुटवल क्लबले उपाधि उचालेको छ । शनिबार पृथ्वी मावि यासोकको खेलमैदानमा भएको फाइनल खेलमा रेड हर्स फुटबल क्लब इलामलाई ३–२ को अन्तरले हराउँदै पाँचथरले उपाधि हात पारेको हो ।

प्रतियोगिताको विजेता पाँचथर फुटबल क्लव पाँचथरले नगद ३ लाख ५५ हजार ५५५ रुपैँया, ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यसैगरी उपविजेता इलामले नगद १ लाख ७७ हजार ७७७ रुपैँया र ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको छ । खेलको सातौँ मिनेटमा पाँचथरका क्याप्टेन रोशन आङदेम्बेले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

इलामका अर्जुन गुरुङले खेलको १८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा रोके । त्यसको केही समयमै फ्री किकबाटै फिदिमका निकेश श्रेष्ठले २१औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको ४८औँ मिनेटमा इलामका डिफेन्डर विदेशी खेलाडी मौसाले फ्री किकलाई हेडमार्फत गोल गर्दै पुन खेललाई २–२ को बराबरीमा रोके ।

अतिरिक्त समयको अन्तिम ८१ औं मिनेटमा थ्रोइङ को अवसरलाई सदुपयोग गर्दै हेडर्मार्फत पाँचथरका प्रदीप बुढाथोकीले निर्णायक गोल गर्दै पाँचथरलाई जित दिलाए । खेलको मेन अफ द म्याच पाँचथरका प्रदीप बुढाथोकी घोषित हुँदै नगद पाँच हजार र ट्रफी हात पारे ।

प्रतियोगिताको राइजिङ प्लेयर पाँचथरका मारम फेवादेन, बेष्ट डिफेन्डर रोशन आङदेम्बे, बेष्ट गोलकिपर मिराक खजुम, प्रेल्यर अर्फ द टुनामेन्ट रोजिन माझी बन्दै नगद र ट्रफि हात पारे । त्यस्तै हाइस्कोर तर्फ आयोजक यलम्बर युवा संस्थाका दिल सम्बाहाम्फे बेष्ट कोच पाँचथरका अनुराग क्यापछाकी मगर घोषित भए ।

प्रतियोगिताको बेष्ट मिडफिल्डर इलामका पुस्कर दाहाल, बेष्ट फरर्वड अर्जुन गुरुङ घोषित हुँदै नगद ट्रफी हात पारे । वैशाख १६ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङसहितका आठ टीमको सहभागिता रहेको प्रतियोगिता आयोजनाका अध्यक्ष भिम नारेन लावतीले जानकारी दिए ।

प्रतिक्रिया