कांग्रेस महामन्त्रीको बेमौसमी भाषण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार इलामको चुनावी सभामा बोल्दै आगामी माघभित्र नयाँ सत्ता गठबन्धन बन्ने दाबी गरे । महामन्त्री थापाले आफ्नो भाषणलाई सत्तासमीकरणकै सेरोफेरोमा केन्द्रित गरे । चुनावी आमसभा जनतासँग भोट माग्ने उद्देश्यले गरिएको हुन्छ । त्यसमा पनि कांग्रेसका महामन्त्री थापा जनताले आश गरेका नेता हुन् । यो उचाइका नेताले गर्ने भाषणका आधारमा पनि मतदान गर्ने तटस्थ जमात सानो छैन । करिब २० प्रतिशत मतदाताले दलीय आस्थाका आधारमा होइन कि समय, परिस्थिति तथा उम्मेद्वारको गुण र दोषको आधारमा मत दिन्छन् । यो कुरा हरेक चुनावमा पुष्टि भएको छ । तर, छोटो छोटो समयमा सत्ता समीकरण परिवर्तन तटस्थ मतदाताका लागि प्रिय कुरा होइन । उनीहरूका लागि प्रिय कुरा भनेको काम हो । दलहरू सत्तामा मात्रै केन्द्रित रहँदा जनता वाक्क दिक्क छन् । सत्तामा पुग्नका लागि जे पनि गर्ने प्रवृत्ति जनतालाई मन परेको छैन । जनताको पक्षमा काम गर्न सत्तामा पुग्नै पर्छ भन्ने छैन । प्रतिपक्षको कित्तामा बसेर पनि जनताको पक्षमा काम गर्न सकिने ठाउँहरू थुप्रै छन् । त्यसमा पनि सत्ता समीकरण परिवर्तन भएको भरखर डेढ महिना पुगेको छ । प्रतिपक्षी कित्तामा पुगेको डेढ महिना बित्दा नबित्दै नेपाली कांग्रेसले सत्तामा पुग्ने प्रयास थालिसकेको सन्देश प्रवाह गर्दा भोट बढ्छ कि घट्छ ? भन्ने हेक्का कांग्रेस महामन्त्रीले राख्न सक्नुपर्छ । नेविसंघको राजनीतिका क्रममा दिइने भाषण र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका कांग्रेस महामन्त्रीले दिने भाषण एउटै प्रकृतिको हुनु हुँदैन ।

संसदीय बहुदलीय व्यवस्थाको मर्मअनुसार प्रतिपक्षी कित्ता भनेको जनपक्षीय कित्ता हो । जनताबीच पुग्नु र जनताका समस्या समाधानका लागि सरकारलाई दबाब दिनु प्रतिपक्षको धर्म हो । नेपाली कांग्रेसले लामो समय प्रतिपक्षमा बस्ने अवसर पाएको छैन । २०७४ सालको आमनिर्वाचनमा जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्ने ‘म्यान्डेट’ दिएका थिए । त्यतिबेला नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका निर्वाह गरेको पनि हो । तर, सत्तारूढ पार्टी नेकपाभित्र आन्तरिक विवाद विष्फोट भयो । त्यतिबेलाको सत्तारूढ नेकपा तीन टुक्रामा विभाजित भयो । यी तीनै वटा कित्ताका नेताहरू सरकारको नेतृत्व लिइदिन आग्रह गर्दै नेपाली कांग्रेसका नेताहरूको घरदैलोमा पुग्न थाले । कि त मध्यावधि निर्वाचन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिनुपर्ने थियो, कि त आफूले सरकारको नेतृत्व संहाल्नुपर्ने थियो । यसबाहेक अर्को विकल्प नेपाली कांग्रेससँग थिएन । कांग्रेसले सत्ताको नेतृत्व संहाल्ने विकल्प रोज्यो । तर, अहिलेको परिस्थिति फरक छ । नेपाली कांग्रेसले अन्य पार्टीहरूको साथ सहयोग पाउन सकिरहेको छैन ।

सरसर्ती हेर्ने हो भने संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने हो, नभए पनि सरकारमा सामेल हुनुपर्ने हो । तर, कांग्रेसभित्रको व्यवस्थापन पक्ष कमजोर रह्यो । चुनावका क्रममा भएको गठबन्धनमा सामेल पार्टीहरूलाई कांग्रेसले विश्वासमा लिन सकेन । उनीहरूले कांग्रेसप्रति अविश्वास गर्नुका केही कारणहरू छन् । ती कारणमध्येका एक कारक महामन्त्री थापासमेत हुन् । पार्टीको महामन्त्री पदलाई उनले इतरपक्षको नेताका रूपमा प्रस्तुत गरे । तर, इतर पक्षको पुरै विश्वास जित्न सकेनन् । आमनिर्वाचन लगत्तै पुस १० गते एकाएक माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थन लिएर प्रधानमन्त्री बन्नुका पछाडि के के कारण थिए ? त्यतिबेला महामन्त्री थापाको भूमिका के थियो ? भन्ने कुरा राजनीति दाउपेचप्रति चासो हुने सबैलाई थाह छ । तीन महिना बित्दानबित्दै प्रधानमन्त्री प्रचण्डले फेरि आमनिर्वाचनका बेलाको गठबन्धनलाई ब्युँत्याएर । बास्तवमा यो प्रधानमन्त्री प्रचण्डले गरेको ‘कोर्स करेक्सन’ थियो । तर, नेपाली कांग्रेस भित्रको गगन थापा समूहको गतिविधि सत्तारूढ पार्टीको जस्तो भएन । मन्त्री पदमा भागबण्डा नपाएको झोक महामन्त्री थापाले पोखे । यतिसम्मकी आफ्नै पार्टीबाट सामेल भएका तत्कालीन अर्थमन्त्री डा.महतले बजेटमा ल्याएका सार्वजनिक खर्च कटौतीका प्रावधानहरूलाई सबैभन्दा चर्को विरोध महामन्त्री थापाले नै गरे । यतिबेला इलामे जनताकहाँ पुगेर सत्तागठबन्धन परिवर्तन हुने उद्घोष गर्दा आफ्नो पार्टीको भोट बढ्छ कि, एमालेको ? भन्ने हेक्का उनले राख्नै पथ्र्यो ।

प्रतिक्रिया