कतारका अमिरको भ्रमण औपचारिकता मात्रै

कतारका राष्ट्रप्रमुख अमिर सेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमण गरी बुधबार स्वदेश फर्किएका छन् । उनको भ्रमणलाई राष्ट्रिय पर्वका रूपमा ग्रहण गर्दै सरकारले एकदिन सार्वजनिक बिदा दियो । उनको स्वागत तथा बिदाइका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं अन्तर्राष्ट्रिय विमानस्थल पुगे । सरकारले कतारका राजा थानीको भ्रमणलाई यति ठूलो महत्त्व दिए पनि जनस्तरमा भने खासै चासो दिइएको पाइएन । किनकी वैदेशिक रोजगारको गन्तव्य मुलुकमध्येको एक हुनुबाहेक कतारप्रति नेपालको जनस्तरमा खासै चासो छैन । कतारमा नेपालीहरूको रगत पसिना जुन अनुपातमा बगेको छ, त्यो अनुपातमा कतारबाट नेपालले खासै फाइदा लिन नसकेको कुरा नेपाली जनतालाई थाहा छ ।

त्यसैले कतारका अमिरको भ्रमणका क्रममा सार्वजनिक बिदा दिइएकोमा नेपाली जनताले खुसी प्रकट गरेको देखिएन । तर, विदेशी अतिथिको स्वागत सत्कार नेपालीहरूको विशेषता हो । पहिलो कुरा त कुनै देशको राष्ट्रप्रमुख औपचारिक भ्रमणमा आउँदा यही स्तरको स्वागत सत्कार गर्ने परम्परा छ । दोस्रो कुरा कतारका अमिर थानीले अन्य देशको भ्रमणमा क्रममा पनि यस्तै स्वागत सत्कार पाउने गरेका छन् । कतारका राष्ट्र प्रमुखलाई भ्रमणका लागि धेरै देशले अमन्त्रण गर्नु र उनको भ्रमणलाई ठूलो महत्त्व दिनु खास कारण छ । पहिलो कुरा त कुवेत अर्थतन्त्रको आकारका हिसाबले विश्वका ५० ठूला देशमध्ये पर्छ । प्रतिव्यक्ति आम्दानीका हिसाबले विश्वमा एक वा दुई नम्बरमा पर्छ । कतारका राष्ट्रप्रमुख थानी स्वयं पनि विश्वका धनाढ्यहरूको सूचीमा माथिल्लै पंक्तिमा छन् ।

झट्ट हेर्दा कतार विश्वकै धनी र विकसित देश बन्नुको मुुख्य कारण पेट्रोलियमको प्रचुर उत्पादन हो । किनकी कतारले दैनिक करिब ३ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ । प्रतिब्यारेल १ सय अमेरिकी डलरको हिसाब गर्ने हो भने वार्षिक १५ अर्ब डलर त कच्चा तेल बिक्री गरेरै कमाउँछ । तर, पेट्रोलियम बिक्री मात्रै कारण होइन । किनकी पेट्रोलियम बिक्रीबाट वार्षिक करिब १५ अर्ब डलर आम्दानी गर्ने कतारको वार्षिक कुल ग्रार्हस्थ उत्पादन २ खर्ब अमेरिकी डलरभन्दा माथि छ । पेट्रोलियम बिक्रीबाट प्राप्त रकम हदैसम्म सदुपयोग गरेका कारण कतारले यतिविधि समृद्धि हासिल गरेको हो । कतारको भन्दा धेरै पेट्रोलियम उत्पादन गर्ने मात्रै होइन कैयौँ पर्यटकीय प्राकृतिक सम्पदा तथा खेतीयोग्य जमिन भएको देश भेनेजुयलाका जनता कंगाल छन् । जलस्रोतको प्रचुर संभावना भएको देश नेपालले कतारबाट सिक्नुपर्ने कुरा धेरै छन् । तर, अधिकांश नेपाली जनताको चिन्तन भेनेजुयलाका जनताको चिन्तनसँग मिल्दोजुल्दो छ ।

कतारका राष्ट्रप्रमुखको भ्रमण नेपालका लागि के कति फलदायी रह्यो भन्ने कुरा भविष्यले बताउनेछ । तर, जे जे सम्झौता भए भनेर समाचारमा आएको छ, त्यसलाई आधार मान्ने हो भने औपचारिकता मात्रै पूरा भएको भन्नुपर्ने हुन्छ । विश्वको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश कतारमा नेपालीहरू निकै सस्तो मूल्यमा श्रम बेच्न बाध्य भएका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरूमध्ये सबैभन्दा कम आम्दानी कतार जाने नेपालीहरूको छ । नेपाली कामदारका लागि कतारले निर्धारण गरेको पारिश्रमिक महिनाको कुल १८ सय रियाल हो । एक रियाल बराबर ३६ नेपाली रुपैयाँ छ । यो मामिलामा प्रगति भएको समाचार आएन । यसैगरी गत आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार कतारबाट एक वर्षमा १३ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, नेपालबाट ११ करोड रुपैयाँ बराबरको वस्तु मात्रै कतार निर्यात भएको छ ।

दुई वर्षअघिसम्म थोरै परिमाणमा भए पनि नेपालबाट खानेपानी निर्यात हुन्थ्यो तर अहिले त्यो पनि करिब करिब ठप्प छ । कम्तिमा पनि कतारमा काम गर्ने ४ लाख नेपालीका लागि नेपालबाटै खानेपानी, खाद्यान्न, तरकारी तथा फलफूल निर्यात गर्ने बाटो फुकाउन सकेको भए कतारका अमीरको भ्रमण फलदायी मानिन्थ्यो । किनकी कतारमा नेपाली श्रमिकले पाउने पारिश्रमिकमध्ये आधाभन्दा बढी हिस्सा खानेपानी, खाद्यान्न, तरकारी लगायतका उपभोग्य बस्तु खरिदमै सकिने गरेको छ । किनकी यी बस्तु कतारमा निकै महँगा छन् ।

प्रतिक्रिया