कृषि क्रान्ति र रोजगारको सम्बन्ध

बजारमा तुरुन्त बिक्री हुने बाली तथा फलफूलको उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । देशको खपत र उत्पादनमा सन्तुलनको अवस्था ल्याउन र निर्यात गर्न सकिने कृषि उपजलाई प्रोत्साहन गर्न सरकारले पढेलेखेका किसान उत्पादन गर्नु जरुरी छ । अनि कृषि पनि उद्योग बन्न पुग्छ । कृषिमा लगानी बढ्ने, प्रतिफल पाउने तथा कृषकले सम्मान पाउने वातावरण बन्न सक्छ । कृषि र कृषकलाई सम्मानपूर्ण तथा रोजगारीमूलक बनाउनको लागि कृषि विषयको अध्ययनलाई अत्यन्त सर्वसुलभ बनाउनु उचित हुन्छ ।

सञ्जय साह मित्र

अब नेपालमा मौलिक प्रणालीको कृषि क्रान्तिको आवश्यकता रहेको छ । देशको आन्तरिक रोजगारमध्ये आधाभन्दा बढी कृषि र कृषिजन्य रहेको भए पनि न त कृषि निर्यातमुखी वा रोजगारमुखी हुन सकेको छ, न त कृषिमा देश आत्मनिर्भर नै हुन सकेको छ । कृषिलाई वैज्ञानिक किसिमको बनाउन सकिएको छैन । न त हाम्रो कृषि रैथाने प्रकृतिको नै रहन गएको छ । हाँस न कुखुराको चालमा कृषि अगाडि बढिरहँदा एकातिर खेत बाँझो रहने र अर्कोतिर तरकारी, फलफूल तथा खाद्यान्न विदेशबाट ल्याइरहनु पर्ने बाध्यता रहेको छ । यसै पृष्ठभूमिमा देशको माटो सुहाउँदो नवीन कृषि क्रान्तिको आवश्यकता देखिएको छ ।

तीन तहको सरकारले कृषिलाई प्राथमिकतामा राखेको तथा कृषिमा लगानी गरिरहेको समाचारहरू आइरहन्छन् । हरेक वर्ष कृषिमा नयाँ कुरा गरिएकै हुन्छ तर कृषिले भने सोचेको जस्तो प्रतिफलदिन सकेको छैन । यसको मूलकारण यो पनि रहेको छ कि कृषिको बारेमा जान्ने र कृषिकर्ममा जुट्ने दुईथरिका प्राविधिकबीच निकै खाल्डो छ । कृषिका नीति निर्माता र खेतमा काम गर्ने किसानबीच निकै धेरै गहिरो खाडल रहेको छ । यस खाडलले गर्दा नीति, नियम तथा दृष्टिकोणसित व्यवहारको संगत हुन सकिरहेको छैन । अनि जतिसुकै ठुला कुरा गरिए पनि कामचाहिँ जहाँको तहीँ देखिएको छ । यथार्थमा कृषिले खासै रोजगारी दिन सकेको छैन र कृषिले सम्मान पनि दिन सकेको छैन । न रोजगारी र न सम्मान, न त निश्चितता नै अनि मानिस कृषि पेसालाई अन्यत्र कतै कुनै काममा सफल हुन नसकेकाहरूको पेसा मान्न थालेका छन् । यसैले वैज्ञानिक कृषि क्रान्तिमार्फत कृषि क्षेत्रलाई रोजगार, सम्मान तथा आय आर्जनको पेसा बनाउनुपर्ने आवश्यकता रहेको देखिन्छ ।

कृषि पेसालाई सम्मानित पेसा बनाउनका लागि कृषकलाई सम्मानित बनाउनु जरुरी छ । कृषि पेसालाई सम्मानित बनाउनका लागि कृषिमा शिक्षितलाई आकर्षित गर्नुपर्छ । अहिले शिक्षितले कृषि गर्नै हुँदैन, माटो छुनै हुँदैन भन्ने परिस्थितिको अन्त्य गरी कृषिमा सबैभन्दा बढी पढेका मानिसलाई आकर्षित गर्न सक्नुपर्छ । यसको लागि दुई किसिमले योजना बनाउन सकिन्छ । पहिलो चरणमा जुनसुकै विषयमा स्नातक वा स्नातकोत्तर गरेकालाई कृषिमा आकर्षित गर्न शैक्षिक योग्यताअनुसार कृषि ऋणको व्यवस्था गर्न सकिन्छ र दोस्रो कृषि विषय लिएर नै स्नातक वा स्नातकोत्तर गरेकालाई उच्च सम्मानका साथ ऋण उपलब्ध गराएर विभिन्न सहुलियत प्रदान गर्दै कृषिकर्ममा लगाउन सकिन्छ ।

अबको समयमा कृषि कस्तो हुने ? देशको कृषिनीतिले स्पष्ट रूपमा भविष्यको खेतीको खाका र कृषिकर्ममा लाग्ने मानिसको योगदानको सम्मान गर्ने बाटो तय गर्नुपर्छ । उदाहरणका लागि देशले सबैभन्दा बढी कुन–कुन कृषि उपजको खपत गर्दछ र कुन–कुन कृषि उपजलाई निर्यात गर्न सकिने सम्भावना रहेको छ ? यी विषयमा स्पष्ट भएर कृषिकर्ममा आकर्षित गर्न तथा कृषिकर्ममा लागेका मानिसहरूको सम्मान बढाउनका लागि राज्यले कृषकलाई सहुलियत तथा सुविधाहरू प्रदान गर्नुपर्दछ ।

कोही आइएससी (एग्रिकल्चर) उत्तीर्ण गर्दछन् भने सबैभन्दा पहिले कृषिमा लाग्ने प्रेरणा दिनुपर्छ । आइएससी (एजी) उत्तीर्णलाई सहुलियत दरमा ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन सकिन्छ । यसैगरी बिएससी (एजी) उत्तीर्ण गरेकालाई कृषिमा आकर्षित गर्न वर्तमान चलनचल्तीमा रहेको ब्याज दरभन्दा आधा ब्याज दरमा कम्तीमा एक करोडसम्म ऋण सुविधा उपलब्ध गराउँदै कृषिको कुनै एक क्षेत्रमा उदाहरणीय कामको लागि प्रोत्साहित गर्नुपर्छ । यसै गरी कोही एमएससी (एजी) उत्तीर्ण गर्छन् भने तिनको विशिष्टता रहेको क्षेत्रमा लगानी गर्न पाँच करोड रुपैयाँसम्म ऋण उपलब्ध गराई सम्भव भएसम्म वार्षिक एक वा दुई प्रतिशत ब्याज मात्र लिनुपर्छ ।

यसरी कृषि, पशु, बागबानी आदि क्षेत्रमा पढेलेखेका उच्च गुणस्तरीय मानिसहरूलाई आकर्षित गर्नको लागि कृषि विषय अध्ययन गर्ने गराउने वर्तमान विश्व विद्यालिय संरचनामा पनि केही परिवर्तन गर्नुपर्छ । कृषि विषय अध्ययनको वातावरण बनाउनु र पढेर के प्राप्त हुने त्यसको पनि खाका तयार गर्नुपर्छ । हरेक जिल्लामा कृषि विषयमा कम्तीमा स्नातक पढ्न पाउने व्यवस्था गर्नुपर्छ । प्रत्येक प्रदेशमा कम्तीमा एक कृषि विश्वविद्यालय हुुनुपर्छ । विश्वविद्यालयको कोर्स सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक वा व्यावहारिक हुनुपर्छ । देशको माटो सुहाउँदो विषय पठनपाठन हुुनुपर्छ र विद्यार्थीहरू खेतमै गएर सिक्ने वातावारण हुनुपर्छ ।

विश्वविद्यालयमा सञ्चालन हुने अनुसन्धान तहचाहिँ फलदायी अनुसन्धान दिने किसिमकै हुनु उचित हुन्छ । कृषिमा अध्ययन गर्ने, अध्ययन गरेर कृषिमा भविष्य देख्ने र पढेलेखेका जनशक्तिले कृषिकर्म गर्न थालेपछि कृषिको भविष्य पनि उज्ज्वल हुने सम्भावनालाई बढाउँछ ।
कृषि विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई केही वर्षसम्म राज्यले प्रोत्साहन दिनुपर्छ । हरेक वडाबाट हरेक वर्ष कम्तीमा एक पुरुष र एक महिलालाई कृषि विषयमा स्नातकको लागि अनुदान उपलब्ध गराउनुपर्छ । प्रदेश सरकारले कृषि विश्वविद्यालयलाई अनुसन्धानका लागि सम्पूर्ण वातावरण बनाउनुपर्छ । यसै गरी केन्द्र सरकारले देशको विभिन्न जिल्लालाई कृषिको पकेट क्षेत्र र कृषिको सहायक पकेट क्षेत्र घोषणा गरी कृषिमा स्नातक र स्नातकोत्तर गरेकालाई आफ्नो विषयको जुन विशिष्टीकृत छ, सोही विषय र क्षेत्रमा लगानीको वातावरण बनाई प्रोत्साहित गर्नुपर्छ ।

राज्यले पर्याप्त लगानी गरिदिए अधिकांश कृषि स्नातक तथा स्नातकोत्तरले कृषिलाई उद्योगको रूपमा लैजान सक्छन् र एक उद्योगमा घटीमा कृषिमा आश्रित १० जनालाई रोजगार उपलब्ध गराउन सक्छन् ।

अनुसन्धान तहमा प्रयाप्त लगानी गर्दा हाम्रो देशको लागि आवश्यक पर्ने बाली, तरकारी, माछा र मासु तथा फलफूलको उत्पादनका साथै भन्डारण, बजारीकरण र उपभोगमा पनि सहुलियत हुन पुग्छ । डाँडाकाँडामा कुन किसिमको कटहर रोप्दा खासै परिश्रम गर्नुपर्दैन र देशमा तरकारीको आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्छ ? तराईमा कुन किसिमको कटहर खेती गर्दा वर्षको कम्तीमा दुई मौसममा फल्न सक्छ ? कटहरले तरकारी वा फलदिनुका साथै काठ पनि दिन्छ र वातावरणलाई पनि फाइदा पुर्याउँछ । आँप, माछा, कुखुराको मासु, अन्डा, दूध र दूधजन्य पदार्थमा देश आत्मनिर्भर हुन लागेको अवस्थामा हरियो तरकारीको उत्पादन धेरै कम भइसकेको देखिन्छ । कृषिमा यदि उच्चशिक्षा हासिल गरेका जनशक्तिको आगमन हुने र सम्मानपूर्ण वातावरण हुन पुग्यो भने तरकारी तथा खाद्यान्नमा पनि देश आत्मनिर्भर बन्न सक्छ ।

उब्जाउ जमिनमा खाद्यान्न तथा अलिकति कमजोर जमिनमा परवल, खरबुजा, उखु तथा अन्य तरकारी खेती गर्न सकिने देखिएको छ । भिरालो जमिनमा त्यस्तो रुख रोप्ने । जसले काठ दिने र फलफूलको मागलाई पनि सम्बोधन गर्ने वातावरण बनाउनुपर्छ । घर, आँगन, छत तथा बारीलाई पनि उत्पादनमूलक उपयोग गर्ने र वरिपरिको वातावरण हरियो बनाई राख्नका लागि सरकारले निरन्तर प्रोत्साहन गर्नुपरेको छ ।

कृषि उपजलाई निश्चित नाफामूलक बनाउन र किसानले उत्पादन गरेको बालीलाई बेच्न चाहेमा बजारको कुनै अभाव नहुने तथा नगद तुरुन्त आउने किसिमको व्यवस्था हुुनु अत्यावश्यक छ । अहिले यही हुन नसक्दा किसानहरूले कृषिलाई अनिश्चितताको पेसाको रूपमा बुझेका छन् । अझ सरकारले किसानलाई बजारमा तुरुन्त बिक्री हुने बाली तथा फलफूलको उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । देशको खपत र उत्पादनमा सन्तुलनको अवस्था ल्याउन र निर्यात गर्न सकिने कृषि उपजलाई प्रोत्साहन गर्न सरकारले पढेलेखेका किसान उत्पादनगर्नु जरुरी छ । अनि कृषि पनि उद्योग बन्न पुग्छ । कृषिमा लगानी बढ्ने, प्रतिफल पाउने तथा कृषकले सम्मान पाउने वातावरण बन्न सक्छ । कृषि र कृषकलाई सम्मानपूर्ण तथा रोजगारीमूलक बनाउनका लागि कृषि विषयको अध्ययनलाई अत्यन्त सर्वसुलभ बनाउनु उचित हुन्छ ।

कृषि विषयमा प्रयाप्त जानकारी भएका जनशक्ति कृषिकर्ममा लाग्ने वा प्रत्यक्ष निगरानीमा कृषि कर्म गराउने हो भने कृषि उत्पादनमा वृद्धि हुने तथा उत्पादनको गुणस्तर पनि बढ्ने हुन्छ । यसले देशमा भइरहेको अनियन्त्रित आयातलाई बिस्तारै प्रतिस्थापन तथा विदेशमा आवश्यकता अनुसारको वस्तु उत्पादन भई बिस्तारै निर्यात प्रवद्र्धनमा व्यापक सुधार आउँछ । कृषिमा उच्च गुणस्तरका जनशक्ति प्रत्यक्षरूपमा संलग्न भएपछि कृषि पेसाप्रति नवयुवामा रहेको हीनभावना हटेर जान्छ र विदेश पलायन भइरहेका नवयुवाहरूले आफ्नै ठाउँमा काम पाउने अवस्थाको सिर्जना पनि हुन सक्छ । अतः कृषि शिक्षाको विस्तार आवश्यक देखिन्छ ।

प्रतिक्रिया