अदुवाखेतीले ल्याएको आर्थिक समृद्धि

तनहुँ जिल्लामा यस वर्ष ५ हजार ७ सय मेट्रिक टन अदुवा उत्पादन भएको छ । वर्तमान बजार मूल्यअनुसार ५ हजार मेट्रिक टन आदुवाको करिव १ अर्ब रुपैयाँ पर्छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ सय हेक्टर क्षेत्रफलमा अदुवा लगाइएको थियो । यति नै क्षेत्रफलमा धानखेती लगाउने हो भने १५ सय मेट्रिक टन फल्छ । १५ सय मेट्रिक टन धानको बजार मूल्य करिव ५ करोड रुपैयाँ पर्छ । यस हिसाबले पनि धानखेतीमा भन्दा अदुवाखेतीमा २० गुणा फाइदा हुने देखिन्छ । धानखेतीलाई जस्तो स्याहार संभार र लगानी अदुवाखेतीमा हुँदैन । अदुवा विदेश निर्यात गर्न पनि समस्या छैन । चालु आर्थिक वर्षमा मात्रै नेपालबाट करिव आठ अर्ब रुपैयाँ बरावरको अदुवा निर्यात भएको छ । नेपालमा वार्षिक ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । जसमध्ये ५० हजार मेट्रिक टन निर्यात हुन्छ भने साढे २ लाख मेट्रिक टन स्वदेशमै खपत हुन्छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालबाट करिब १ खर्ब रुपैयाँ बराबरको बस्तु निकासी भएको छ । जसमध्ये अदुवाको हिस्सा ८ प्रतिशत हुनु भनेको सामान्य कुरा होइन । अदुवाखेतीमा नेपालको समृद्धि संभव छ भन्ने उदाहरण हो यो । त्यति मात्रै होइन रित्तिँदै गएको पहाडी क्षेत्रलाई अदुवाखेतीको प्रोत्साहनबाट फेरि गुल्जार बनाउन सकिन्छ भन्ने सन्देश पनि हो ।

नेपालको पहाडी क्षेत्रका लागि अदुवाखेती सर्वोत्तम प्रमाणित भएको अहिले होइन । २२से २४से राज्यको पालादेखि मालनेटा राज्यको अदुवा सिधै लखनउ जाने गरेको इतिहास पाइन्छ । तर, राज्यस्तरबाट कहिल्यै पनि अदुवा खेतीका लागि प्रोत्साहन गरिएन । अदुवाखेतीले नेपालको अर्थतन्त्रमा जे जति योगदान पु¥याएको छ, त्यो पौरखी किसानहरूको मिहिनेतको कारण हो । पहाडबाट तराई तथा सहरतर्फ हुने गरेको तीव्र बसाइँसराइलाई अदुवाखेतीले रोक्न सक्छ भन्ने कुरा इलाम जिल्लाले दुई दशकअघि नै प्रमाणित गरिसकेको हो । जब इलाममा अदुवाखेती व्यापक हुन थाल्यो तब तराईमा बसाइँ सरेकाहरू समेत धमाधम इलाम फर्कन थाले । इलामजस्तै अदुवा खेतीको संभावना नेपालको सम्पूर्ण मध्यपहाडी क्षेत्रले ओगटेको छ । नेपालको ६५ जिल्लामा अदुवाखेती हुन्छ । बसाइँसराइका कारण मध्यपहाडी क्षेत्रका गाउँहरू रित्तिँदै जाँदा जंगली क्षेत्र बढेको छ । जसका कारण बाँदर आतंक सुरु भएको छ । बाँकी रहेका परिवार पनि बाँदर आतंकका कारण बसाइँ सर्न थालेपछि कतिपय पालिकाहरूले सार्वजनिक सूचना नै जारी गरेर रुख काट्न निर्देशन दिने गरेको समाचार आउन थालेको छ । अदुवाखेतीलाई प्रोत्साहन गर्ने हो भने बाँदर आतंक नियन्त्रण हुन्छ । पहिलो कुरा त अदुवालाई बाँदरले नोक्सान गर्न पाउँदैन । दोस्रो कुरा अदुवा खेतीका लागि छाप्रो हाल्न झाडी प्रयोग हुने भएका कारण अनावश्यक जंगलको वृद्धि स्वतः नियन्त्रण हुन्छ ।

विश्वमा अदुवा उत्पादन हुने माटो तथा हावापानी भएको देशहरू खासै धेरै छैनन् । सबैभन्दा धेरै अदुवा उत्पादन गर्नेमध्ये नेपालको स्थान पाँचाँै छ । पहिलो स्थानमा भारत, दोस्रो स्थानमा नाइजेरिया, तेस्रो स्थानमा चीन र चौथो स्थानमा इन्डोनेसिया छन् । नेपालको अदुवा भारतका व्यापारीले सस्तो मूल्यमा किन्छन् र महँगो मूल्यमा युरोप अमेरिका निर्यात गर्छन् । तै पनि अदुवा खेतीबाट नेपालका धेरै किसानहरूले समृद्धि हासिल गरेका छन् । ठूलो परिमाणमा उत्पादन गर्ने हो भने नेपालबाट सिधै युरोप अमेरिकामा अदुवा निर्यात हुने संभावना छ । तर, यसका लागि सरकारी पहल आवश्यकता छ । कृषि मन्त्रालयको नीति निर्माण तथा कार्यान्वयनमा रहनेहरूले संभावनाको क्षेत्र नचिनेका हुन् वा जानाजान लापरवाही गरेका हुन् ? भन्ने कुरा बुझ्न सकिएको छैन । धेरै मूल्य पनि तोक्नु पर्दैन । १ केजीको सय रुपैयाँको दरमा राज्य आफँैले खरिद गर्ने सुनिश्चित गरिदिने हो भने दुई वर्षभित्रै नेपालमा कम्तिमा वार्षिक १ करोड मेट्रिक टन अदुवा उत्पादन हुन्छ । साउदी, मलेसिया जान छाडेर युवाहरू अदुवाखेतीमा सामेल हुन्छन् । नेपालको वैदेशिक व्यापार तुरुन्तैै नाफामा जान्छ ।

प्रतिक्रिया