सद्भावना रूपन्देहीमा झगडा

भैरहवा : सद्भावना पार्टीले केन्द्रबाट आफू निकटका व्याक्तिहरूलाई टिकट दिएपछि जिल्लामा यसको विरोध भएको छ । जिल्लाबाट सिफारिस गरिएका व्याक्तिहरू भन्दा पनि केन्द्रबाट केन्द्रीय नेताको निकटका व्याक्तिहरूलाई टिकट दिएको भन्दै सद्भावना पार्टी रूपन्देहीले निर्वाचनको सबै क्षेत्रमा विद्रोही उम्मेदवार खडा गर्ने जनाएको छ । पार्टीले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसको विरोध गरेको हो । सद्भावना पार्टी रूपन्देहीका अध्यक्ष आनन्दप्रसाद गुप्ताले रूपन्देही जिल्लाका सबै क्षेत्रबाट आफूहरूले पार्टीले टिकट नदिए पनि स्वतन्त्र रूपमा उम्मेदवार खडा गर्ने बताएका छन् । उनले भने, ‘पार्टीले जिल्लाबाट सिफारिस गरेको भन्दा पनि केन्द्रका नेता निकट व्याक्तिलाई दिएको छ यसको विरोध गर्दछौँ । केन्द्रले आर्थिक चलखेलमा लागेर टिकट बाडेको आशंका गरेका छौँ ।’
जिल्लाले रूपन्देही क्षेत्र नम्बर २ बाट आनन्दप्रसाद गुप्ताको नाम सिफारिस गरेकोमा राजेन्द्र गुप्तालाई दिएको छ । त्यस्तै, क्षेत्र नम्बर १ बाट चन्दमान तिवारी, क्षेत्र नम्बर ४ बाट नथुराम क्षेत्री, क्षेत्र नम्बर ५ बाट राजेन्द्र गुप्ता, क्षेत्र नम्बर ६ बाट  ओम प्रकाश यादब(गुल्जारी) र क्षेत्र नम्बर ७ बाट मनमोहन चौधरीलाई सिफारिस गरेका थिए । तर, जिल्ला स्तरीय निणर्यलाई लत्याउँदै केन्द्रले क्षेत्र नम्बर ५ बाट सिफारिस गरिएका राजेन्द्र गुप्तालाई क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको टिकट दिएपछि जिल्लामा पार्टीसहित विभिन्न भातृ संगठनहरूले यसको विरोध गरेका छन् । पार्टीका युवा मञ्च, विद्यार्थी मञ्च, किसान मञ्च, स्वास्थ्यकर्मी मञ्च, मधेस रक्षा बाहिनीलगायतले कडा विरोध जनाएका छन् । (सौस)

प्रतिक्रिया