बद्री, रूपेश र मदनको अग्रता

काठमाडौं, ६ मंसिर । नेपाल बैंक खुला फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा पाँचौँ चरणको समाप्तिमा दुई युवा खेलाडी गोल्डेनगेट कलेजका रूपेश जैसवाल तथा मदनकृष्ण कायस्थको साथमा पूर्वराष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले संयुक्त अग्रता लिएका छन् । यी तीनैजनाको ४.५ अंक छ ।

बद्रीले चौथो खेलमा युवा राजन पुरीलाई ४४औँ र चितवनका युवा खेलाडी सन्तोष गौतमलाई पाँचौँ चालमा पराजित गरे । चौथो खेलमा पूर्वनेपाल च्याम्पियन नवीन तण्डुकारमाथि जित हासिल गरी हौसिएका सन्तोषसित बद्रीले कालो गोटीबाट सिसिलियन खेलमा ३१औँ चालमा एउटा सिपाही फाइदा लिए । त्यसपछि निरन्तर दबाब झेलेका सन्तोषले ४१औँ चालमा घोडा गुमाए र ४६औँ चालमा खेल परित्याग गरे ।
यु–१९ च्याम्पियन रूपेशले चौथो खेलमा मकवानपुरका कृष्ण थापासित प्रतिस्पर्धात्मक खेलमा कठिन जित हात पारे भने पाँचौँ खेलमा मदनसित बराबरी खेली अंक बाँडेका थिए । त्यस्तै मदनले चौथो खेलमा नेपाल च्याम्पियन फिडेमास्टर मनीष हमाललाई हराए । यी दुईबीचको प्रतिस्पर्धात्मक खेल ४७औँ चालसम्म बराबरी अवस्थामा थियो । तर जित्ने दबाबमा मनीषले ४८औँ चालमा गल्ती गरे र सोबाट फाइदा उठाउँदै ६०औँ चालमा मनीषलाई खेल त्याग्न बाध्य बनाए ।
प्रतियोगितामा सुरवीर लामा, कृष्ण थापा, मनीष हमाल र मिलन रोक्काको ४ अंक छ । सुरवीरले चौथोमा सुनसरीका मणिराज डाँगी र पाँचाँैमा पूर्णराज खड्कालाई हराए । नेपाल बैंक लिमिटेड केन्द्रीय प्रशिक्षण केन्द्र, कोपुन्डोल ललितपुरमा जारी प्रतियोगितामा कृष्णले पाँचाँै चरणमा उमेश सैँजुलाई हराए । मनीषले पाँचौँ खेलमा मच्छिन्द्र क्लबका श्यामसुन्दर श्रेष्ठलाई माथ गरे । मिलनले चौथो चरणमा राजु शाक्यलाई हराए भने पाँचौँ चरणमा राजन पुरीबाट वाकओभर पाए ।
पाँचदिने प्रतियोगितामा पूर्वनेपाल च्याम्पियन नवीन तण्डुकार, केशव श्रेष्ठ, ओलम्पियाड भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ, हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जन, एभरेस्ट चेस क्लबका विवेक लामा, हिमाल लामा र अनरेटेड सन्तोष गौतमले समान ३ अंक जोडेका छन् । त्यसैगरी ३ अंक प्राप्त गर्नेहरूमा फिडेमास्टर सुजेन्द्र श्रेष्ठ, भेट्रान सीताराम अग्रवाल, चेतनशील समाजका राजु शाक्य, काभ्रेका कृष्णप्रसाद श्रेष्ठ, भोजपुरका सुमन राईलगायत रहेका छन् ।

प्रतिक्रिया