आज टेष्ट राष्ट्र वेस्ट इण्डिज ‘ए’ र नेपालबीच दोस्रो भिडन्त

काठमाडौं । टी–२० क्रिकेटअन्तर्गत आज टेष्ट राष्ट्र वेस्ट इण्डिज ‘ए’ र नेपाल राष्ट्रिय टोलीबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुँदै छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

शनिबार पहिलो खेलमा वेस्ट इण्डिजलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल लक्ष्यमा रहने छ । टी–२० विश्वकपको तयारीमा रहेका दुवै टोलीले यो खेललाई महत्वपूर्ण रूपमा लिएका छन् । सिरिजको तेस्रो खेल बुधबार र चौथो खेल बिहीबार हुने छ भने अन्तिम खेल भने आगामी शनिबार हुनेछ ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इण्डिजको ‘ए’ टोली नेपाल आएको हो । शनिबार पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इण्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

प्रतिक्रिया