पोखरियामा श्री विष्णु महायज्ञ सुरु

पर्सा । पर्साको पोखरिया नगरपालिका– ४ पोखरियामा बिहीबारदेखि ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ । आगामी जेठ ४ गतेसम्म चल्ने सो महायज्ञको पहिलो दिन बिहीबार भव्य कलशसहितको शोभायात्रा पनि निकालिएको छ ।

महायज्ञ आयोजनास्थलबाट सुरु भएको कलशसहितको शोभायात्रा सतवरिया, पोखरिया बजार, शिवबरवा, सेमरबारी बरवा, चुरिहर्वा गाँउ हुँदै नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर पोखरिया गाउँको परिक्रमा गर्दै पुनः महयज्ञ मण्डपमा पुगेर समापन भएको हो ।

कलशतथा शोभायात्रामा ३ हजार १ सय ५१ जना कुमारी कन्याका साथै करिब ८ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले जानकारी दिए । सो शोभायात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउ–ठाँउमा विभिन्न व्यक्ति र संस्थाले चिसो सर्वत पानी, फ्रुटी, फलफूलहरु बाँडेका थिए ।

शोभायात्रामा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहान, उपमेयर रूबी कुमारी ठाकुर, संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, पूर्वमेयर दीपनारायण रौनियार, नेता गौरीशंकर साह तेली, नेजामुदीन समानी, आशादेवी चौहान, सकिम मियाँ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया