झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान बिरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । १५ वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका संक्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रमअन्तर्गत बिरामीलाई कुखुराको अन्डा, बदाम, सातु, दाल र चामल दिने गरिएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए । नगरपालिकाले आगामी वर्षसम्ममा मेचीनगरमा क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए पनि बिरामीले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र संक्रमण नघट्ने समस्या छ ।
रोग लुकाएर बसिरहेकाहरूको खोजपड्ताल गर्ने र संक्रमण पुष्टि भइसकेकालाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । ६ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ ।
संक्रमण पुष्टि भएका नगरवासीलाई १ बोरा चामल, १ क्यारेट कुखुराको अन्डा, १ लिटर खाने तेल, १ किलो दाल, १ किलो बदाम र १ किलो सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् । नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका संक्रमितले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधिसमेत नियमित रूपमा खाने गरेको पाइएको सापकोटाको भनाइ छ । भूगोल र जनसंख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा नियमित रूपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १६४ संक्रमितले क्षयरोगको औषधि सेवन गरिरहेका छन् ।
नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेमा ६५ वर्षमाथिकाहरूको संख्या बढी छ । ३ जना एचआइभी संक्रमितलेसमेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीलाई गाउँ–गाउँ पठाएर नयाँ संक्रमितको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधिजडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ संक्रमित पत्ता लागेको जनाइएको छ ।
स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य वस्तु पाउँदा क्षयरोगका बिरामी हर्षित रहेको पालिकाका प्रवक्ता एवं वडा–२ का वडाध्यक्ष दीपक बराल बताउँछन् । ‘उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका संक्रमित ज्यादै खुसी हुन्छन्’, बराल भन्छन्, ‘हुनेखानेहरू सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन्, तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अन्डा, सातुलगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।’
प्रतिक्रिया