काभ्रेमा रुखमा बाँधेर जलाइएको पुरुषको शव फेला, कुकुरसहित प्रहरी टोली पुग्दै

काभ्रे । निर्मम तरिकाबाट रुखमा तारले बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ४ स्थित एक रुखमा ती पुरुषलाई बाँधेर आगो लगाइएको तथा मृत अवस्थामा शव फेला परेको स्थानीयहरुले बताएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बिच भागमा पर्ने ठाउँमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।

उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन । उनले सो शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको उल्लेख गरे ।

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली पुग्दै गरेको बताइएको छ ।

पाँचखाल नगरपालिका– ४ जिरोकिलोस्थित मेलम्ची सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जंगलमा हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५ को जस्तो देखिने पुरुषको मुख र छातिमा तारले रुखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया