पुलु पहिरो पीडितलाई राहत हस्तान्तरण

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गत साउन ८ गते शुक्रबार राति गएको पहिरोबाट प्रभावित परिवारलाई मुगम कार्मारोङ गाउँपालिकाको आयोजनामा अक्कल कोपिला फाउन्डेशन र गाउँपालिकामा कार्यरत कर्मचारीहरूको आर्थिक सहयोगमा राहत हस्तान्तरण गरिएको छ ।

पहिरोमा परी छायाँनाथ रारा नगरपालिका १३ तिर्प गाउँ निवासी पुलुमा होट ब्यवसाय गदै आएका जगनाथ बढुवालका तीन वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको तथा पुलु बजारमा ठूलो क्षति पुगेपछि मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई राहत वितरण गरिएको हो ।

अक्कल कोपिला फाउन्डेशनले पत्रकार नन्द बहादुर रोकायाको समन्वयमा पहिरोबाट प्रभावित ९ घरपरिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको छ । प्रत्येक परिवारलाई एक बोरा चामल, दुई प्याकेट खानेतेल र एक केजी चिनी सहयोग गरिएको छ ।

साथै, पहिरोमा छोरा गुमाएका जगनाथ बडुवालको परिवार तथा पूर्णरूपमा घर भत्किएका पेमा छेन्जोक तोर्चे तामाङ र पेमा सांगे तामाङका परिवारलाई एक–एक थान फाइबर गरी तीन थान फाइबर समेत प्रदान गरिएको छ । फाउन्डेशनले वितरण गरेको राहत सामग्रीको कुल मूल्य रु ४३ हजार ६ सय ५० रहेको जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका–१३ थार्प गाउँका स्थायी बासिन्दा तथा हाल स्पेनमा ‘रारा नामक होटल’ सञ्चालन गर्दै आएका अक्कल कोपिला फाउन्डेशनका संस्थापक अक्कल बोहाराले विपद्को समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको बताए ।

‘मुगु मेरो जन्मथलो हो, यहाँका नागरिक दुःखमा पर्दा सकेको सहयोग गर्नु मेरो मानविय धर्म तथा कर्तव्य पनी हो, आगामी दिनमा पनि विपद्, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिनेछु,’ बोहाराले भने ।

विगत १० बर्ष देखि हरेक विपत्त आपत्तमा सहयोग गदै आएको र आवश्यक विपत्तीमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन ।
यसैगरी, मुगम कार्मारोङ गाउँपालिकामा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा राहत रकम संकलन गरी प्रभावित परिवारलाई हस्तान्तरण गरेका छन्। कर्मचारीहरूबाट संकलित रकममध्ये पहिरोमा ज्यान गुमाएका बालक रमेश बडुवालको परिवारलाई रु १ लाख ९ हजार १५४ प्रदान गरिएको छ ।

त्यस्तै, पहिरोबाट घरमा क्षति पुगेका परिवारलाई रु ४५ हजार राहत वितरण गरिएको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुवास चन्द्र रावलले जानकारी दिए । उनका अनुसार कर्मचारीहरुले पिडित परिवार लाई मलमप६टीको लागि रेशम राज मेमोरियल रिलिफ फण्ड र पुलु ल्यान्सलाईड सहयोग भनेर राहत संकलन गरेका थिए ।

जसमा रेशम राज मेमोरियल रिलिफ फण्डमा १ लाख ९ हजार १५४ रुपैया जम्मा भएको र पुलु ल्यान्सलाईड सहयोगमा ४५ हजार रुपैया जम्मा भएकोले त्यसै अनुरुप रेशम राज मेमोरियल रिलिफ फण्ड बाट ज्यान गुमाएका बालक रमेश राज बडुवालको परिवारलाई रु १ लाख ९ हजार १५४ प्रदान गरिएको र पुलु ल्यान्सलाईड सहयोगमा जम्मा भएको रकम क्षेतिको आधारमा पेमा छेन्जोक तोर्चे तामाङलाई रु ११ हजार, पेमा सांगे तामाङलाई रु ११ हजार, सोनामा तोर्चे लामालाई रु ७ हजार, पेमा लामालाई रु ८ हजार ५ सय तथा कार्मा तोर्चे लामालाई रु ७ हजार सहयोग गरिएको छ ।

विपद्को घडीमा सहयोग गर्ने सबै सहयोगदाता, कर्मचारी तथा अक्कल कोपिला फाउन्डेशन प्रति आभार व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत रावलले प्रभावित परिवारको पुनःस्थापनाका लागि थप सहयोग आवश्यक रहेको बताएका छन । राहत वितरण कार्यक्रममा मुगुम कार्मारोङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ पुटिक लामा, प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष, सुरक्षाकर्मी, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया