
काठमाडौं । प्रहरीले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेष्टरको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार गत साउन ८ गते सञ्चालित MGT 515: Organizational Behaviour विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा साटासाट गरी शिक्षा ऐन, २०२८ अन्तर्गत कसूर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रौतहट जिल्ला राजदेवी नगरपालिका– ४ घर भई हाल काठमाडौंको ताहाचल बस्ने २५ वर्षीय अतुल कुमार मिश्र र बारा जिल्ला लिपनीमाल– १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका– २१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन् ।
मिश्रलाई साउन १० गते काठमाडौंको ताहाचलबाट र हाकिमलाई साउन ११ गते वीरगञ्ज-८ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । यसअघि नै पक्राउ परेका आरोपीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोमा घटनामा संलग्नताका आधारमा उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
प्रतिक्रिया