
काठमाडौं । साउन महिनाको प्रत्येक सोमबार सशस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा नेपाल एपीएफ अस्पतालबाट चिकित्सकसहितको टोलीले मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको हो ।
शिविरमार्फत श्रद्धालु भक्तजनहरूको स्वास्थ्य परीक्षणसँगै आवश्यकता अनुसार औषधि र खानेपानी समेत निःशुल्क वितरण गरिँदै आएको छ ।
यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनार्थ आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा १० जनाको विपद् व्यवस्थापन टोली पूर्ण तयारी अवस्थामा खटिएको छ ।
आवश्यक पर्दा तत्काल उद्धार कार्यमा परिचालन हुनसक्ने गरी उद्धार टोलीसँग र्याफ्ट बोट लगायतका विपद् उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ ।
साथै, कुनै आकस्मिक अवस्था सिर्जना भएमा तत्काल उद्धार गर्न सक्ने गरी सशस्त्र प्रहरी बल नेपालको एम्बुलेन्स समेत सोही क्षेत्रमा तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया