वेस्ट इण्डिजले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं । टी–२० क्रिकेटअन्तर्गत आज टेष्ट राष्ट्र वेस्ट इण्डिज ‘ए’ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको हो ।

वेस्ट इण्डिज ‘ए’ का गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्ट इण्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो ।

रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्ट इण्डिजले ४१ रन जोडेको थियो ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १–० ले अघिछ । पहिलो खेलमा शनिबार नेपालले वेस्ट इण्डिजलाई ४ विकेटले हराएको थियो ।

टी–२० विश्वकपको तयारीमा रहेका दुवै टोलीले यो खेललाई महत्वपूर्ण रूपमा लिएका छन् । सिरिजको तेस्रो खेल बुधबार र चौथो खेल बिहीबार हुने छ भने अन्तिम खेल भने आगामी शनिबार हुनेछ । नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इण्डिजको ‘ए’ टोली नेपाल आएको हो ।

प्रतिक्रिया