शिक्षा र सिपमा जोडिँदै कला : १२ सय कलाकृति प्रदर्शनीमा

काठमाडौं । काठमाडौँ महानगरपालिका शिक्षा विभागको संयोजन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित प्रतिष्ठान परिसरमा शुक्रबार प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नयाँपुस्तालाई कलामार्फत जोड्ने कामले समाजमा सकारात्मक परिणाम दिने विचार व्यक्त गरे ।

काठमाडौं महानगरअन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन गरिएको शिक्षामा सिप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम/कार्यक्रममा विद्यार्थीबाट सिर्जित कलाकृति प्रदर्शनीमा राखिएको उनले बताए । कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको जिकिर गर्दै समाजमा सचेत र सकारात्मक विचार प्रवाह गर्न कलाको भूमिका विशिष्ट रहने धारणा राखे ।

उनले भने, ‘शिक्षा र सिप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । यसलाई अझै प्रभावकारी ढंगले लैजानुपर्ने दायित्य छ ।’ उनले राष्ट्र निर्माणमा कलाको भूमिका विशिष्ट रहने भएकाले यसमा महानगर र यसको नेतृत्वले लिएको सोचलाई व्यापक बनाउनुपर्ने जिकिर गरे । कुलपति हार्तम्छालीले यस कार्यक्रममा जोडिने सबैप्रति आभार व्यक्तसमेत गरे ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सिपसँग जोडेर कलाको विषयलाई सुरु गरेको र त्यसले सकारात्मक परिणाम दिएको बताए । उनले यस कार्यक्रमले कलाक्षेत्रमा मात्रै नभइ रोजगारी र अर्थतन्त्रमा समेत प्रभाव पार्ने गरी परिणाम दिएको धारणा व्यक्त गरे । थुम्केलीले महानगरका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिए ।

उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेलले कार्यक्रम सुरुमा गाह्रो देखिए तापनि त्यसको नतिजा देख्दा खुसी लागेको बताइन् । उनले भनिन्, ‘कार्यक्रम एकदमै राम्रो लाग्यो । यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद ।’ काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसात् गरेर काम अघि बढाई त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताए ।


उनले विद्यार्थीले सिकेका कलासम्बन्धी ज्ञान दैनिक जनजीवनसँग जोडिनुपर्नेमा जोड दिए । कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला राखिएको बताइन् ।

उनले कार्यक्रम सफल बनाउन विद्यार्थी, प्रशिक्षक, सहप्रशिक्षक र विद्यालय परिवारलगायत सबैको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरिन् । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले समाज रुपान्तरणमा कलाको भूमिका जहिले पनि विशिष्ट रहँदै आएको जनाए ।

उनले महानगरले लिएको योजनाले राम्रो परिणाम दिन सफल भएको बताए । सो समारोहमा प्राज्ञ पाल्साङ्मो लामा, प्रदिप अधिकारी, संजय वान्तवा राई, दिनेश्वर महतो, अरुणा हिङमाङ, नरेन्द्रप्रसाद भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दुर्गानारायण ढकाल, अग्रज कलाकार राधेश्याम मुल्मी, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनाल, कलाकार सम्झना राजभण्डारी, रसिक राज, सन्तोष राई, सोनी राई, उमा खड्कालगायतको उपस्थिति रहेको थियो ।

वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा विश्व निकेतन मा. वि, रत्नराज्य मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि, गीतामाता मा.वि., कन्या मन्दिर मा.वि., शहिद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीले सिर्जना गरेका कलाकृति राखिएको छ ।

प्रतिक्रिया