भलिबल प्रतियोगितामा आज नेपालले बंगलादेशसँग फाइनल खेल्दै

भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बंगलादेश रातोसँग खेल्ने छ । आयोजक बंगलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो ।

ढाकामा नपाली भलिबल टोलीका साथमा रहेका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बंगलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अंकले पराजित गरेको हो । यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अंकले हराउँदै सेमफाइनल प्रवेश गरेको थियो ।

भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बंगलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहेका छन् ।

टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन् । टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुंगेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए ।

प्रतिक्रिया