नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । प्रारम्भिक नेपाली टोलीको गोलरक्षकमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत छन् । रक्षकमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छन् । मिडफिल्डरमा भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् ।

फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् । नेपालले युएईसँग आगामी ६ जुनमा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसिसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्यौलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो । आसन्न विश्वकप छनोटका लागि दोस्रो चरणमा नेपाल समूह एचमा छ । समूहमा युएई ४ खेलमा शतप्रतिशत जितसहित शीर्ष स्थानमा छ । बहराइन ३ जित र १ हारसहित ९ अंक लिएर दोस्रो स्थानमा छ । यमन ४ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । नेपालले ४ खेलमा कुनै पनि अंक जोडेको छैन ।

दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका ३६ टोलीलाई ९ समूहमा विभाजन गरिएको छ । यी ९ समूहमा शीर्ष २ स्थान पाउने १८ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा प्रवेश गरेका १८ टोलीलाई ३ समूहमा विभाजन गरिनेछ । ३ समूहमै शीर्ष २ स्थान पाउने ६ टोली सिधै सन् २०२६ को विश्वकपमा प्रवेश गर्नेछन् । समूहमा तेस्रो र चौथो स्थान पाउने टोली चौथो चरणमा प्रवेश गर्नेछन् । चौथो चरणमा पनि ६ टोलीलाई २ समूहमा विभाजन गरिने छ । दुवै समूहको शीर्ष स्थान पाउने टोली विश्वकप २०२६ मा प्रवेश पाउनेछन् । दुवै समूहमा दोस्रो स्थान पाउने टोली पाँचौँ चरणमा प्रवेश गर्नेछ । पाँचौँ चरणमा २ टोलीको बीचमा होम एन्ड अवेको आधारमा खेल हुनेछ । सो खेलमा जित हात पार्ने टोलीले इन्टर कन्फरडेसन प्ले अफ खेल्नेछन् । इन्टरकन्फरडेसन प्ले अफमा सफलता पाएमा एसियाका ९ टोलीको सहभागिता रहनेछ । अन्यथा ८ टोलीको सहभागिता रहनेछ ।
अहिले जारी दोस्रो चरणको छनोटमा समूहमा कतार ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । भारत ४ अंकसहित दोस्रो तथा अफगानिस्तान पनि समान ४ अंकसहित तेस्रो स्थानमा छन् । कुवेत ३ अंकसहित चौथो स्थानमा छ ।

समूह ‘बी’मा जापान १२ अंकसहित शीर्ष स्थानमा छ । सिरिया ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ अंकसहित तेस्रो तथा म्यान्मा १ अंकसहित चौथो स्थानमा छन् । समूह ‘सी’मा कोरियाको १० तथा चीनको ७ अंक छ । थाइल्यान्डको ४ तथा सिंगापुरको १ अंक छ । समूह ‘डी’मा काजकिस्तान र ओमानको बराबर ९ अंक छ । मलेसियाको ६ अंक छ भने ताइपेइको कुनै अंक छैन । समूह ‘इ’मा इरान र उज्बेकिस्तानको समान १० अंक छ । तुर्केमिनिस्तान र हङकङको समान १ अंक छ । समूह ‘एफ’मा इराकको १२, इन्डोनेसियाको ७ तथा भियतनामको ३ अंक छ । यसैगरी फिलिपिन्सको १ अंक छ । समूह ‘जी’मा साउदी अरेबियाको १० तथा जोर्डनको ७ अंक छ । ताजकस्तानको ५ अंक छ । पाकिस्तानको कुनै अंक छैन । समूहमा ‘आई’मा अस्ट्रेलियाको १२ तथा प्यालेस्टाइनको ७ अंक छ । लिबियाको २ तथा बंगलादेशको १ अंक छ ।

प्रतिक्रिया