खेल संरचना सरकारको प्राथमिकतामा

काठमाडौँ । सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेलक्षेत्रतर्फ विद्यालयस्तरका शिक्षक र विद्यार्थीहरूलाई खेलको तालिम दिने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासका लागि विद्यालयस्तरबाटै खेल तालिमको कार्यक्रम अगाडि बढाएको हो । पूर्वाधार निर्माण र प्रतियोगिता आयोजना गर्नेमा नै सरकारको खेल कार्यक्रम सीमित रह्यो । खेल विकासका साथै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्न खेलकुदका ग्रासरुट कार्यक्रम पनि प्राथमिकता पाउन सकेन ।

सरकारले उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन र खेलक्षेत्रमा महिला सहभागिता बढाउन कार्यक्रम ल्याउने उल्लेख गरेको छ । खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम सञ्चालनमा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ ।

यसले गर्दा खेलाडीको मनोबलमा वृद्धि हुनेछ । सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी खेलाडीलाई सम्मान तथा पुरस्कृतका साथै जीवननिर्वाह भत्ताको व्यवस्था गर्नेजस्ता कार्यक्रम सार्वजनिक गरेको छ । साथै सरकारले खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्ने भएको घोषणा गरेको छ । काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिने यसपटकको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न सरकारले अग्रसरता देखाएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने सरकारले उल्लेख गरेको छ । सरकारले देशको मौलिक तथा परम्परागत खेल प्रवद्र्धन गर्ने भएको छ । नेपालको मौलिक खेल एवं परम्परागत खेलको प्रवद्र्धन तथा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना कार्यक्रममा उल्लेख गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समावेश छ । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाउने र आधुनिक प्रवधियुक्त अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेजस्ता कार्यक्रमलाई प्रोत्साहन गरेको छ ।

प्रतिक्रिया