टी–२० क्रिकेट : वेस्ट इण्डिजविरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

काठमाडौं । टी–२० क्रिकेटअन्तर्गत आज टेष्ट राष्ट्र वेस्ट इण्डिज ‘ए’विरुद्ध दोस्रो खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्दै छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

शनिबार पहिलो खेलमा वेस्ट इण्डिजलाई ४ विकेटले हराएको नेपाली टोली लगातार दोस्रो जित हासिल लक्ष्यमा रहने छ । टी–२० विश्वकपको तयारीमा रहेका दुवै टोलीले यो खेललाई महत्वपूर्ण रूपमा लिएका छन् । सिरिजको तेस्रो खेल बुधबार र चौथो खेल बिहीबार हुने छ भने अन्तिम खेल भने आगामी शनिबार हुनेछ ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इण्डिजको ‘ए’ टोली नेपाल आएको हो । शनिबार पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

प्रतिक्रिया