कैदी बढि भएपछि व्यवस्थापनमा समस्या

कोठा नपुग्दा बरण्डामा कैदीको बास

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी भएकाले व्यवस्थापनमा समस्या भएको छ । कारागार सञ्चालनमा आएको साढे तीन महिनामै कैदी बन्दीको संख्या क्षमताभन्दा धेरै भएपछि ब्यवस्थापनमा समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

१६० जना पुरुष र ५० जना महिला गरी २१० जनाको क्षमता रहेको कारागारमा हाल महिला, पुरुष गरी २४३ जना कैदी बन्दी राखिएको जेलर मनोजकुमार मिश्रले जानकारी दिए । जेलर मिश्रका अनुसार कारगारको महिला सेलतर्फ २३ जना कैदी बन्दी छन्, भने पुरुषतर्फ २२० जना पुगेका छन् । पुरुषतर्फ कैदी बन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको छ ।

कैदी बन्दीको संख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । ठाउँ अभावका कारण कैदी बन्दीलाई सुत्नसमेत समस्या पर्न थालेको छ । कैदी बन्दीको संख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ ।

जिल्ला कारागार ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए ।

यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताएका छन् । अर्थिक उपार्जनसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।
कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुनेलगायतका काम गर्ने गरेका छन् ।

प्रतिक्रिया