काठमाडौं । गत चैत १५ गते राजसंस्था पुनः स्थापना गर्ने उदेश्यले भएको प्रदर्शनको क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आज शुक्रबार सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले मिश्रलाई थुनामुक्त दिन आदेश दिएको जानकारी दिए । चैत १५ गते हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको मृत्यु भएको थियो भने काठमाडौंका विभिन्न स्थानमा आगजनी र तोडफोड भएको थियो ।
उनी ५० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए । उनलाई आज कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ ।राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।
आज शुक्रबार न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै मिश्रलाई उनका कानुन व्यवसायीको जिम्मा लगाएर तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
मिश्रका तर्फबाट श्रीमती सारिका कार्की मिश्रले मंगलबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश दिएको थियो ।
प्रतिक्रिया