‘डिसेम्बर फल्स’ मा आर्यन

काठमाडौं । अभिनेता आर्यन सिग्देल नयाँ चलचित्र ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएका छन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने सस्पेन्स लभस्टोरी चलचित्रबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी जानकारी दिइएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा आर्यनसँगै अभिनेता सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारले अभिनय गर्ने जनाइएको छ ।

चलचित्रमा अभिनेत्री छनोट बाँकी रहेको निर्माण पक्षले जनाएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा चलचित्र उद्योगमा कार्यरत् प्रवीण झाले निर्देशन गर्नेछन् । त्यस्तै, चलचित्रको छायांकन पनि भारतीय चलचित्र उद्योगका छायांकार रवि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

बिपिका खनालको कथा रहेको ‘डिसेम्बर फल्स’ मा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नुपरेका विविध घटना, समस्या लगायतका विषय रहने बताइएको छ । पेशाले नर्स रहेकी बिपिकाले चिकित्सा क्षेत्रमा नर्सले भोग्नुपरेका समस्यालाई चलचित्रमा प्रस्तुत गरिने जनाइन् । चलचित्रको पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन् ।  अभिनेता आर्यनले आफूलाई चलचित्रको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको जिकिर गरे । उनले भने, ‘यो फिल्मको स्क्रिप्ट र युनिट निकै मन प¥यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरेको हुँ ।’ कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता रामप्रसादले आफूले विगतमा निर्माण गरेका चलचित्रभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नयाँ ढंगले बनाउन लागेको जानकारी दिए ।

कार्यकारी निर्माता लक्ष्मणले राम्रो चलचित्र निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए । उनले भने, ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको फिल्म निर्माण गर्ने प्रयास छ । त्यसकारण मैले यसपाली निर्देशन गरिनँ ।’ ४ माघदेखि सुटिङ थालिने चलचित्रको निर्मातामा राजकुमार भट्ट छन् ।  कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले ‘डिसेम्बर फल्स’ को सफलताको कामना व्यक्त गरे । उनले कोरोनाका कारण बन्द रहेको चलचित्र उद्योग खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिँदै केही सातामै हल खुल्ने विश्वास व्यक्त गरे ।

दीपक शर्मा र कोशिस क्षेत्रीको संगीत रहेको यो चलचित्र ०७८ सालको साउन १ गते प्रदर्शन आउने जनाइएको छ । चलचित्रको छायांकन काठमाडौं र पोखरामा गरिने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरा लगायतका चलचित्र निर्माण गरिसकेको छ ।

प्रतिक्रिया