राजदेवी मन्दिरमा भक्तजनको घुइँचो

सिरहा । बाराको गढीमाइ पछि सबैभन्दा बढी बलि चढ्ने शक्तिपीठका रूपमा चर्चित सिरहाको लहान नगरपालिका–१५, ढोडनास्थित पञ्चावती राजदेवी मन्दिरमा (देवी थान)चण्डी पूर्णिमाका दिन लाखौँ पशुपन्छीको बलि दिइने गरिन्छ ।

यहाँ वर्षमा एक पटक चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीका दिन ठूलो मेला लाग्ने गर्दछ । यस वर्ष जेठ१० गते बिहीबारका दिनपर्ने चण्डी पूर्णिमा तथा बुद्ध जयन्तीका दिन मन्दिर परिसरमा बलि प्रदान र दर्शनका लागि आउने भक्तजनको संख्या १० लाख भन्दा बढी देखिएको थियो ।

मेलामा नेपाल र भारतका लाखौँ भक्तजनको घुईंचो लागेको थियो । प्रत्येक वर्ष भाकल पूरा भएपछि बलि चढाउन आउने भक्तजनको संख्या बढ्दै गइरहेको छ भने नयाँ भाकल गर्नेहरूको संख्या पनि बढ्दै गएको देखिन्छ ।

लहान बजारबाट १० किलोमिटर उत्तरमा रहेको चुरे जंगलसँगै जोडिएकोे दुई बिघा क्षेत्रफलको जंगलमा रहेको यस राजदेवी मन्दिरमा सिरहा, सप्तरी, सुनसरी, उदयपुर, धनुषा, सर्लाही, मोहतरी, बारा, पर्सासहित छिमेकी मुलुक भारतको बिहारको उत्तरी क्षेत्रका दर्शनार्थीको भिड लाग्ने गरेको छ । यस मन्दिरमा पशुपक्षीको बलि दिएर राजदेवी माताको भाकल अनुसार पूजाअर्चना गरे सन्तान प्राप्ति, रोगव्याधिबाट मुक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।

मन्दिरमा बोका, पाठी, हाँस, परेवा, कुखुराको बलि चढाउने गरिन्छ । भने बारा गढीमाई पछिको नेपालके दोश्रो पशुपक्षीको बलि राजदेवी मन्दिर (देवी थान )मा दिनेगरिछ । एक बिघा पाँच कठ्ठा पाँच धुर क्षेत्रफलमा जंगलको बीचमा रहेको मूर्ति बिनाको मन्दिरमा छ । बलि दिइएको पशुपक्षीको रगतले मन्दिर परिसर रक्ताम्मे हुने भए पनि भोलिपल्टदेखि दुर्गन्ध नआउने र झिँगा समेत नलाग्ने हुँदा त्यसमा राजदेवीको शक्ति रहेको जनविश्वास रहेको छ ।

थारु समुदायको बाहुल्य रहेको यस मन्दिर क्षेत्रको वरिपरि गाउँका प्रायः हरेक घरका मान्छे मेलाका लागि आउने गर्छन् । छिमेकी गाउँका र अन्य स्थानमा रहेका आफन्तहरू र नाताकुटुम्ब, ईष्टमित्रहरू भेला भई राजदेवीलाई पशुपन्छीको बलि चढाई पाहुनाको रूपमा बसेर प्रसाद बाँडेर खाने चलन रही आएको छ ।

राजदेवीको स्थापना कहिले भयो भन्ने सन्दर्भमा मन्दिरका पुजारी अनुसार उनकोे दश पुस्ता अघि त्यस क्षेत्रको जंगलमा जंगली जनावरले धेरै दुःख दिन थालेपछि धामीलाई देवीले सपनामा त्यस क्षेत्रमा मन्दिर स्थापना गरी चण्डी पूर्णिमाका दिन बलि दिनू भन्नु भएकाले यहाँ बलि दिने परम्परा चलेको बताउँछन् ।

प्रतिक्रिया