काठमाडौँ । नेपाल राष्ट्र बैंकको ६८ बर्से इतिहासमै पहिलो पटक गभर्नर नियुक्तिको विषय सबैभन्दा धेरै गिजोलिएको छ । नियामकीय स्वात्ततामाथि नांगो हस्तक्षेप गर्ने सत्तारुढ एमाले र कांग्रेसको बद्नियत र बिचौैलियाको चलखेलले गभर्नर नियुक्ति नै अन्योलको भुमरीमा फसेको छ ।
यसअघि पनि राजनीतिक रङकै आधारमा गभर्नर नियुक्त हुने गरेको भए पनि यस पटक भने सत्तारुढहरूले नांगो हस्तक्षेप गर्न खोज्दा गभर्नर नियुक्तिले जटिल मोड लिएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नर रिक्त हुनु १ महिनाअगावै नयाँ गभर्नर नियुक्ति हुनुपर्ने व्यवस्था छ । तर, रिक्त भएको १ महिनाभन्दा बढी समयसम्म कामुकै भरमा केन्द्रीय बैंक चलिरहेको छ ।
कांग्रेसले गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेललाई नै गभर्नर बनाउने नयाँ लबिइङ थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेका हुन् । यसअघि देउवा र ओलीबीच राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएर उनलाई राजीनामासमेत गर्न लगाइएको थियो ।
तर, कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओली कामु गभर्नर ढुंगानालाई नै गभर्नर बनाउने प्रयासमा छन् । देउवाले भने आगामी प्रधानमन्त्री आफू भएका कारण गभर्नर पनि आफू निकटकै हुनुपर्ने दाबी गरेपछि गभर्नर छाड्न ओली तयार भएका हुन् । तर, ओलीले भट्टलाई नरुचाएका कारण उनको राजीनामा स्वीकृत हुने नसकेपछि कांग्रेसले अर्को नाम अघि सारेको हो । यद्यपि, यसबारे पार्टीमा आधिकारिक छलफल नभएको र आफूलाई थाहा नभएको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।
को हुन् पौडेल ?
नयाँ गभर्नर बनाउने तयारी गरिएका पौडेललाई नियुक्त गर्न भने राष्ट्र बैंक ऐन नै बाधक बन्ने देखिएको छ । ऐनको दफा २१(क) मा गभर्नर नियुक्तिको अयोग्यतासम्बन्धी व्यवस्था छ । भनिएको छ, ‘कुनै राजनीतिक दलको पदाधिकारी वा सदस्य भएको व्यक्ति नियुक्त हुने अयोग्य हुनेछ ।
तर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष चितवनका डा. विश्व पौडेल गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर चुनाव लडेका व्यक्ति हुन् । यद्यपि निर्वाचनमा उनी तेस्रो स्थानमा मात्रै रहे । सो क्षेत्रमा रास्वपाका हरि ढकालले विजय हासिल गरेका थिए । त्यतिबेला कांग्रेसबाट टिकट पाएपछि उनले योजना आयोगबाट राजीनामा दिएका थिए । स्मरणीय छ– यसअघि निवर्तमान गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’को छद्म नाम राखेर नेकपा एमालेको संगठनमा बसेको भन्दै संसद्मा प्रश्न उठेपछि एमालेले जबाफ दिनुपरेको थियो ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका उनी योजना आयोगको उपाध्यक्ष हुनुअघि कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणाको युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टीका रूपमा काम गरेका थिए । राणासँग राम्रो सम्बन्ध भएकै कारण उनी गभर्नरको बलियो दाबेदार भएको बताइएको छ ।
सिफारिस समितिबाट बाहिरिए पौडेल, अधिकारीविरुद्धको रिटको पेसी भोलि
कांग्रेसले गभर्नर बनाउने भएसँगै विश्व पौडेलले सरकारले बनाएको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् ।पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् । अब अर्थमन्त्री पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीमात्रै सदस्य छन् । यसैबीच, सर्वोच्च अदालतले अधिकारी समितिमा बस्न नमिल्ने भन्दै दायर रिटमा भोलि (३० वैशाख)का लागि पेसी तोकेको छ ।
अधिवक्ता नवीन धितालले अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको भन्दै रिट दिएका हुन् ।
प्रतिक्रिया