मन्त्रीलाई दैनिक १ ट्रक धुलो उपहार !

चक्रपथको दुर्दशाप्रति बालेनको आक्रोश

प्रतिकारमा उत्रिने सडक विभागको चेतावनी

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नुहोला ।’

काठमाडौँ । विकासे अड्डाका प्रमुख तालुकदार निकाय सडक विभाग र त्यसअन्तर्गतको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटअगाडि शनिबार एकाएक काठमाडौँ महानगरका एक÷एक वटा गाडी पुगे । ती गाडीले ती कार्यालयको गेटैमा पर्ने गरी माटो खन्याए, र चुपचाप हिँडे । वरपर हेर्नेलाई यो दृश्यले अचम्म लागिरहेको थियो । कसैले केही अनुमान लगाउनै सकेका थिएनन् ।

साँझपख काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा कारणसहित माटो खन्याएको भिडियो नै सार्वजनिक गरेपछि बल्ल स्थानीयले पनि त्यसको कारण थाहा पाए । चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकीदेखि महाराजगन्जसम्म दोस्रो चरणको रिङरोड विस्तारमा भएको ढिलासुस्ती र त्यसबाट महानगरबासीमा परेको समस्याका बारेमा संघ सरकार र तालुकदार मन्त्रीको ध्यानाकर्षण गर्न बालेनले यस्तो उपाय निकालेको देखिन्छ । यसलाई सांकेतिक विरोधका रूपमा समेत हेरिएको छ ।

यसबारेमा प्रष्ट पार्दै बालेन भन्छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ । काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरबासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारण गाली खानुपरेको छ ।’

सांकेतिक विरोधमा उत्रिएका बालेनले चक्रपथ विस्तारको काम अगाडि नबढेसम्म हरेक दिन यसरी नै एक ट्रक धुलो सम्बन्धित निकायको गेटमा खन्याउने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला ।’

कानुनी राज्यको उपहास : सडक डिभिजन

उता, सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौँले भने आफ्नो गेटअगाडि फोहोर फालिएको विषयलाई महानगरको बलमिच्याइँ तथा अराजक शैली भएको बताउँदै शनिबार नै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा सडक डिभिजन काठमाडौँको कार्यक्षेत्रभित्र भएका त्रुटि औँल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने, तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार आगामी दिनमा सह्य नहुने र सोको प्रतिकार गर्नसमेत सडक डिभिजन बाध्य हुने उल्लेख गरिएको छ ।

त्यस्तै, महानगरको जथाभावी सडक काट्ने काम रोकेपछि मेयर बालेनले अराजक व्यवहार देखाएको आरोप पनि डिभिजन कार्यालयको छ । महानगरले धुलो खन्याउनुअघि शनिबार बिहान न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकखण्डमा सडक डिभिजनको अनुमति बिना सडकको विद्यमान क्यारिजवे घटाउने उद्देश्य अनुरूप सडकको दुवैतर्फ पिच कटर प्रयोग गरी कटिङ गरिरहेको भन्दै उक्त काम रोक्न लगाइएको थियो । साथै, डिभिजनले मेसिन नियन्त्रणमा लिएर राखेको थियो । तर, पछि आइन्दा अनुमतिबिना त्यस्तो काम नगर्ने सर्तमा मेसिन फिर्ता गरिएको थियो ।

मेयर बालेनले सोही विषयलाई विषयान्तर गरेर डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्यको उपहास गरेको डिभिजनले बताएको छ । यसलाई स्पष्ट पार्दै डिभिजन कार्यालयले भनेको छ, ‘शनिबार करिब १२ बजे न्युरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ ।’

के हो विवाद ?

चक्रपथ सुधारको दोस्रो फेजअन्तर्गतको कलंकी–महाराजगन्ज खण्डको कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारका तर्फबाट निर्माण पक्षले सम्झौता गरेका थिए । सम्झौतामा नेपाल सरकारले १ महिनाभित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिनाभित्र निर्माणका लागि सबै पूर्वतयारीको काम सक्ने र तेस्रो महिनाबाट काम थालेर ३ वर्ष ४ महिनाभित्र आयोजनाको काम सक्ने उल्लेख गरिएको थियो ।
चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । अहिले चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथ विस्तार गर्न आयोजना अघि बढेको हो । सम्झौतामा दुईतर्फी ४ लेन सडक, सर्भिस लेन, साइकल लेन, फुटपाथसहितको सडक र बस बिसौनी, पार्किङ लट, पुराना पुल तथा सर्भिस लेनमा नयाँ पुलका साथै ‘अन्डरपास’ र ३ वटा ‘ओभरपास’ बनाउने सहमति भएको छ । आयोजनाको लागत करिब ५ अर्ब ८५ करोड रुपैयाँ छ ।

तर, सम्झौता भएको १२ वर्ष बितिसक्दा पनि उक्त योजना अलपत्र अवस्थामा छ । सडक जताततै भत्काइएको छ भने उक्त खण्डमा धुलोले दिउँसै सडक अन्धकार हुने गरेको छ । सवारी चालकदेखि यात्रु मात्र होइन, त्यस आसपासका व्यापारी तथा स्थानीयसमेत सास्ती खेप्न बाध्य छन् । हिउँदमा धुलोको सास्ती भोगेकाहरू बर्खा लाग्नासाथ हिलो र चिप्लोका कारण प्रताडित बनिरहेका छन् ।

किन रुष्ट बने बालेन ?

२०७९ साल फागुनमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र महानगरसहितको टोलीले उक्त सडक खण्डको स्थलगत अनुगमन गरेको थियो । त्यसपछि महानगरले चक्रपथ विस्तारमा देखिएका बाधा–अवरोधका बारेमा जानकारी लिएर अहिलेसम्म आयोजनाका लागि अप्ठ्यारो परेका २२ स्थानका संरचना हटाएर साइट क्लियर गरिसकेको छ ।

बालेन मेयरमा निर्वाचित भएपछि महानगरले उक्त आयोजनाका लागि नेपाल सरकारलाई पटक–पटक समन्वयका लागि आग्रह र दबाबसमेत दिएको थियो । त्यस समयमा सबै पक्षबाट चाँडै काम सुरु हुने प्रतिबद्धता महानगरले पाएको थियो ।

तर, यति लामो समयसम्म पनि चक्रपथ विस्तारको कामले गति लिन नसकेकोप्रति संघ सरकार जबाफदेही हुनुपर्ने र यसबारे सबैलाई प्रष्ट पार्नुपर्ने भन्दै २ महिनाअघि पनि बालेनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका थिए । बालेनले भनेका थिए, ‘संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ । नेपालका दूरदराजको विकास पद्धतिले फड्को मार्छ भनेर कसरी विश्वास गर्नु ?’

उक्त सडकखण्डका कारण त्यस क्षेत्रको सरसफाइमा महानगरले समस्या भोग्दै आएको छ । जसका कारण काठमाडौँलाई धुलोमुक्त बनाउने महानगरको योजना पनि अलपत्र छ । महानगरका अनुसार चक्रपथबाट प्रवेश गर्ने सवारीसाधनले चक्रपथको धुलो सहरी क्षेत्रमा पुर्याउँदा बाँकी सडकखण्ड पनि धुलोमय बनेको छ । जसकारण महानगरले विभिन्न प्रयास गर्दा पनि भित्री सहरी क्षेत्रको सडक व्यवस्थित हुन सकेको छैन भने जताततै धुलो र फोहोर देखिने समस्या छ ।

प्रतिक्रिया