
मधेस ब्युरो । रौतहटमा एक जना प्रधानाध्यापकले आफ््नो निजी पैसाले जमिन किनेर विद्यालयलाई दान दिएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–७ उचिडिह गाउँमा सञ्चालनमा रहेको आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्ति कुशवाहाले लाखौँ रुपैयाँको जमिन किनेर विद्यालयलाई दान दिएका हुन् ।
प्रअ कुशवाहाले आठ लाख रुपैयामा एक कट्ठा जमिन किनेर विद्यालयलाई दान किनेका हुन् । विद्यालयमा जमिनको अभावमा कक्षा कोठा निर्माण भइ नरहेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट रोकिएर बसेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैयामा जमिन किनेर विद्यालयलाई दान दिएका हुन् ।
रौतहटको कटहरिया नगरपालिका–१ भसेढवाका स्थायी निबासी प्रअ कुशवाहाले आफ्नो निजी पैसाले जमिन किनेर विद्यालयलाई जमिन हस्तान्तरण गरेपछि देवाही गोनाही नगरपालिकाले सम्मानित गरेको छ । नगर प्रमुख प्रेमलाल साहसहित नगरपालिकाको टोलीले प्रअ कुशवाहाको योगदानको कदर गर्दै सम्मानित गरेको हो ।
विद्यालयसँगै जोडिएको जमिन प्रअ कुशवाहाले किनेर विद्यालयलाई दानमा दिएका हुन् । विद्यालयमा जमिनको अभाव रहेको तथा जमिन किन्न विद्यालयमा आन्तरिक स्रोतको अभाव रहेको अवस्थामा प्रअ कुशवाहाले आठ लाख रुपैयाँ लगानी गरेका हुन् ।
प्रअ कुशवाहाले उपलब्ध गराएको जमिनमा विद्यालयको भवन निर्माण हुन थालेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपैयाँमा विद्यालयको लागि ४ कोठे भवन निर्माणको काम अगाडि बढेको छ । यसै गरी नगरपालिकाले पनि दुई कोठे भवन निर्माणको काम अगाडि बढाएको छ । नगरपालिकाको १५ लाखको लगानीमा अर्को दुई कोठे भवन निर्माण हुन थालेको हो ।
विद्यालयमा भवनको अभाव रहेको छ । जमिनको अभाव पूरा भएसँगै निर्माण भइरहेका दुवै भवनको निर्माण सम्पन्न भएपछि विद्यालयमा कक्षाकोठाको समस्या धेरै हदसम्म समाधान हुने प्रअ कुशवाहाको भनाइ छ । विद्यालय भवनको अभावमा विद्यार्थीलाई धेरै समस्या भइरहेको अवस्थामा अबको केही दिनमा भवन र कक्षाकोठाको समस्या समाधान हुने विश्वास आफूले लिएको प्रअ कुशवाहाको भनाइ छ ।
प्रअ कुशवाहाले विद्यालयलाई आफ्नो निजी लगानीमा जमिन किनेर उपलब्ध गराएपछि सबैले प्रशंसा गरेका छन् । प्रअ कुशवाहाको नेतृत्वमा विद्यालयले अझै प्रगति गर्ने विश्वास स्थानीयवासीले लिएका छन् ।
प्रतिक्रिया