न खेती गर्ने जमिन रह्यो, न कमाउने बाटो !

भूकम्पपछि रुकुमेलीको पीडा

भूकम्पले ज्याला मजदुरी गरेर बनाएको घरसँगै हाम्रो रोजगारी पनि खोसेको छ । पहिले घर हुँदा ढुक्कले कमाउन गइन्थ्यो । अब टहरामा परिवारलाई एक्लै छाडेर कसरी जानु ?

रुकुम पश्चिम । गत वर्षको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पको पीडामा जाजरकोट जति पिल्सिएको छ, रुकुम पश्चिम पनि उत्तिकै पीडामा छ । भूकम्पले टाउको लुकाउने ठाउँ त खोस्यो खोस्यो, दुःखजिलो गरेर गरिखाने खेतबारी पनि धुजाधुजा बनाइदियो ।

भूकम्प भएको ७ महिना बित्न लाग्दासम्म पनि रुकुमेली नागरिकले न ओत लाग्ने गतिलो घर पाएका छन्, न त गरिखाने कुनै विकल्प । राहतका नाममा दालचामल बाँडेर फर्किएका दाता त्यसयता यहाँ देखिएका छैनन् । राज्यले ‘तत्कालका लागि राहत’ भन्दै दिएको थोरै रकम पनि टिनका अस्थायी टहरा बनाउँदै सकिइसक्यो ।


भूकम्पपछि त्रिपालमुनि कष्टकर रूपमा चिसा रात कटाएका यहाँका नागरिक अहिले उखरमाउलो गर्मीमा तातेको टिनमुनि उसिनिइरहेका छन् । आउँदै गरेको बर्खायाम कसरी कटाउने भन्ने अर्को पिरलो थपिएको छ उनीहरूलाई । राज्यले न यहाँको क्षत्विक्षत् बस्ती पुनर्निर्माणको खाका बनाएको छ, न त स्थानीयलाई हातमुख जोर्ने विकल्प नै दिएको छ ।

रुकुमका अनन्ते घर्तीलाई अचेल घर कसरी चलाउने भन्ने चिन्ताले सताइरहन्छ । भूकम्पका कारण भएको जमिन पनि चिराचिरा पारेको छ । खेतीकिसानी गरौँ भन्ने विकल्प बाँकी छैन । बस्ने गतिलो सुरक्षित घर नहुँदा जहान, बालबच्चालाई टिनमुनि एक्लै छाडेर उनी कमाउन परदेश जान पनि सकिरहेका छैनन् ।

‘भूकम्पले खेतीयोग्य जमिन चिराचिरा भएको छ । न उत्पादन छ, न त रोजगारी नै,’ अर्का भूकम्प पीडित प्रजित कामी भन्छन् । यो समय रुकुमेलीहरू भारतमा रोजगारी गर्न जाने समय हो । तर, भूकम्पका कारण त्यो पनि खोसियो । ‘भारतमा कमाउन जाऊँ, यता घर छैन । नजाऊँ त के खाने ?,’ प्रजितको भनाइ छ । यो पीडा प्रजित र अनन्तेको मात्र होइन, रुकुम पश्चिमका अधिकांश भूकम्प पीडित अहिले यही अवस्थाबाट गुज्रिरहेका छन् ।

अन्य समयमा भएको भए यतिबेला ‘कालापहाड’ अर्थात् भारतमा रोजगारी गर्न जानेहरूको लर्को हुन्थ्यो । सिजनको खेतीकिसानी सकाएर कमाउन जानेहरूका लागि यो मौसम ‘सिजन’ नै हो । अघिल्ला वर्षहरूमा भारतको हिमाचल प्रदेशमा पर्ने सिमला, लद्दाक, कार्गिल, कुल्लु, मनालीलगायत अन्य सहरमा रोजगारीका लागि जानेहरू अहिले गाउँघरमै टाउकामा हात राखेर घोत्लिइरहेका देखिन्छन् ।

भूकम्प प्रभावित क्षेत्रका अधिकांश मानिस घरबारविहीन बनेपछि उनीहरू मजदुरीका लागि भारत जान सकेका छैनन् । काम पाएका केहीले गाउँमै ज्याला मजदुरी गरिरहेका छन् त कसैले काम खोज्दै दिन बिताइरहेका छन्् । सरकारले बस्ती पुनर्निर्माणलाई गति दिन नसक्दा अलमलिनुपरेको उनीहरू बताउँछन् ।

भारतमा ज्याला मजदुरी गर्दै आएका रुकुम पश्चिमका जंग खड्का भन्छन्, ‘गहुँ भित्र्याएर मकै पनि लगाइयो । अब कमाउन (भारत) जाने भनेको, सरकारले घर बनाइदिन्छ भन्ने सुनेर यतै बसेको छु । भत्केको घर बनाउन पाए बालबच्चालाई ढुक्कले राखेर जान हुन्थ्यो ।’

यहाँका अधिकांश मानिस खेतीबालीको काम सकेर कमाउन भारत जाने गर्छन् । तर, भूकम्पपछि न भारत जान सकेका छन्, न त गाउँघरमै कुनै काम छ । भूकम्पका कारण धेरैजसोको रोजगारी गुमेको छ । आठबिसकोट–११ का महेश सुनार भन्छन्, ‘भूकम्पले आफन्त, घर मात्रै लगेन । हाम्रो रोजीरोटी पनि लिएर गएको छ । ज्याला मजदुरी गरेर बनाएको घरसँगै रोजगारी पनि खोसेको छ । पहिले घर हुँदा ढुक्कले कमाउन गइन्थ्यो । अब टहरामा परिवारलाई एक्लै छाडेर कसरी जानु ?’

समयमै पुनर्निर्माण नहुँदा थप अप्ठ्यारो भएको उनले बताए । भारतका विभिन्न ठाउँमा रोजगारीका लागि जानेहरू अहिले घरमै बस्न बाध्य छन् । एकातिर आफन्त गुमाउनुको पीडा, अर्कातिर पराई देशमा गएर ‘खुनपसिना’ एक गरेर कमाएको घर पनि भूकम्पले खोसिदिएपछि उनीहरूलाई पर्नु पिर परेको छ ।

भूकम्पपछि रुकुम पश्चिमका धेरैजसो बस्ती थप जोखिममा परेका छन् । भूकम्पले भएको घर भत्कायो, आफन्तको मृत्यु भयो, खेती गर्ने गरेको जग्गा काँक्राका चिराजस्तो बनाइदियो । बितेका कुरा त उनीहरूले जसोतसो सहेकै थिए । अगाडि बढ्ने हिम्मत पनि गरे । तर, अब उनीहरूलाई अर्को जोखिम थपिएको छ । भूकम्पका कारण बस्तीभन्दा माथि र तलको जमिन फाटेका कारण पानी पर्नासाथ कुनबेला पहिरोले बस्ती नै सोहोरेर लैजाने हो भन्ने चिन्ता थपिएको छ ।

भूकम्पले पानीका मुहान नै सुक्दा कतिपय ठाउँमा खानेपानीको हाहाकार भएको छ । गर्मी मौसममा खानेपानीको उचित प्रबन्ध नहुँदा विभिन्न रोगले सताउन सक्ने चिन्ता पनि रुकुमेली जनतामा व्याप्त छ ।

आठबिसकोट नगरपालिकाले भने प्रक्रियागत कारणले भूकम्पपछिको पुनर्निमाणमा समय लागेको प्रतिक्रिया दिएको छ । नगर प्रमुख रवि केसीका अनुसार भूकम्प पीडितहरूको अस्थायी आवास निर्माण सकिइसकेको र पुनर्निर्माणका लागि स्थानीय सरकारले पहल गरिरहेको छ । सरकारले बनाएको कार्यविधिअनुसार प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले तुरुन्तै पुनर्निर्माण हुन नसकेको उनले बताए ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया