दिल्ली अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु

दिल्ली । भारत दिल्लीको विवेक विहारस्थित न्यू बर्न ब्यवी केयर अस्पतालमा शनिबार राति आगलागी हुँदा कम्तीमा सात बालबालिकाको मृत्यु भएको छ । उक्त घटनाबारे शनिबार अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनामा परी घाइते भएका अन्य ६ शिशुको इस्ट दिल्ली एनआसीयू हस्पिटलमा उपचार भइरहेको बताइएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले दिल्लीस्थित उक्त अस्पतालमा आगलागीमा परी सात नवजात शिशुको मृत्युको घटनालाई लिएर दुःख व्यक्त गरेकी छन् ।

‘दिल्लीको विवेक विहारस्थित एक अस्पतालमा आगलागीका कारण धेरै बालबालिकाको मृत्यु भएको खबर हृदयविदारक छ,’ राष्ट्रपति मुर्मूले एक्स (ट्वीटर) मा लेखेकी छन् । उनले भनेकी छन्, ‘शोकसन्तप्त आमाबाबु र आफन्तहरूलाई यो आघात सहन परमेश्वरले बल दिनुहोस्, यस घटनामा घाइते भएका अन्य बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

यसैगरी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । केजरीवालले एक्समा लेखेका छन्, ‘बालबालिकाको अस्पतालमा भएको आगलागीको यो घटना हृदयविदारक छ, यस दुर्घटनामा आफ्ना निर्दोष छोराछोरी गुमाएकाहरूको साथमा हामी सबै उभिएका छौँ ।’

मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘सरकार र प्रशासनका अधिकारीहरू घटनास्थलमा नै घाइतेहरूको उपचारमा व्यस्त छन्, घटनाको कारणबारे अनुसन्धान भइरहेको छ र यो लापरबाहीका लागि जो कोही पनि जिम्मेवार छ, उसलाई छुट दिइने छैन ।’

दिल्लीका स्वास्थ्यमन्त्री सौरभ भारद्वाजले पनि घटनालाई गम्भीरतापूर्वक लिँदै कडा कदम चाल्ने आश्वासन दिएका छन् । उनले भनेका छन्, ‘मैले स्वास्थ्य सचिवलाई वर्तमान स्थितिको बारेमा अद्यावधिक गर्न भनेको छु, दोषीलाई छुट दिइने छैन ।’

लापरवाही गर्ने वा कुनै पनि गलत कार्यमा संलग्न हुनेलाई कडाभन्दा कडा सजाय हुने उनले बताएका छन् । अधिकारीहरूका अनुसार १२ जना बालबालिकालाई घटनास्थलबाट उद्धार गरिएको थियो । तीमध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।

आगलागीमा परी छ नवजात शिशुको मृत्यु भएको र अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको दिल्ली प्रहरीले जनाएको छ । केयर सेन्टरका मालिक नवीन किची घटनापछि फरार रहेका छन् । दिल्ली प्रहरीका अनुसार उनीविरुद्ध धारा ३३६ र ३०४ ए अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।– रासस

प्रतिक्रिया