थाइल्यान्डमा सातामा तेस्रो पटक फेरिए प्रधानमन्त्री

बैंकक । थाइल्यान्डले एक हप्ताकै बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । त्यहाँका निर्वाचित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतको फैसलाले निलम्बनमा राखेपछि पुनर्गठन भएको मन्त्रिपरिषद्मा राजाले बिहीबार तेस्रो व्यक्तिलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।

संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री सिनावात्रालाई अनुसन्धान बाँकी रहेको भन्दै निलम्बन गरेपछि प्रधानमन्त्री कार्यालयमा उथलपुथल भएको थियो ।

त्यसपछि यातायातमन्त्री र उपप्रधानमन्त्री सुरिया जुङरुङराङकिटले नेतृत्वको अवसर पाएका हुन् । उनले पनि एक दिन मात्र पूर्णरूपमा कार्यालयमा काम गरेका थिए ।

पूर्व रक्षामन्त्री फुमथाम वेचायाचाईले बिहीबार बिहान सुरियाभन्दा उच्च श्रेणीको उप–प्रधानमन्त्रीको भूमिका लिएर राजाद्वारा गृहमन्त्रीको रूपमा सपथ लिए । त्यसपछि उनी कार्यवाहक प्रधानमन्त्री बने ।
थाई सरकारले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा नयाँ मन्त्रिपरिषद्ले आफ्नो पहिलो बैठकमा कार्यवाहक प्रधानमन्त्रीका रूपमा फुमथामको भूमिकालाई अनुमोदन गरेको बताएको छ ।

पेटोङटार्नलाई हटाइनुअघि उनले आफूलाई नयाँ मन्त्रिपरिषद्मा संस्कृतिमन्त्रीको भूमिका दिएका थिए । यसको अर्थ उनले सत्ताको माथिल्लो तहमा आफ्नो स्थान कायम राखे ।

प्रतिक्रिया