यस्तो छ, आगामी वर्षका लागि प्रस्तुत आर्थिक सर्वेक्षण

काठमाडाैं । सरकारले आव २०८०/८१को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । सर्वेक्षणअनुसार सार्वजनिक सस्थानको आम्दानी १४.८७ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक संस्थानहरुको नाफा १ खर्ब ४ अर्बले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कूल सञ्चालन आय ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेको आर्थिक सर्वेक्षणले देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा १४.८७ प्रतिशतले वृद्धि भई ६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ । यो तथ्यांक सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ मा आएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा ५ खर्ब ७५ अर्ब रुपैयाँ आम्दानी गरेका सार्वजनिक संस्थानहरुले आव ०७९/०८० मा ६ खर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेका हुन् ।

गत आर्थिक वर्षमा अस्तित्वमा रहेका २६ वटा संस्थानले नाफा आर्जन गर्दा १५ वटा घाटामा छन् । ३ वटा संस्थानको कारोबार शून्य छ । सार्वजनिक संस्थानको खुद नाफामा ३ हजार ४६ प्रतिशतले वृद्धि हुँदा ४८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड घाटामा रहेको आयात निगम गत आर्थिक वर्ष ११ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा ४४ वटा सार्वजनिक संस्थान रहेका छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ वटा सार्वजनिक संस्थान छन् ।

नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आ.व.२०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेको थियो भने आव २०७९/८० मा ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा ९८१.४० प्रतिशतले बढेको छ । नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी २.८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च २३.७९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२.१८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

२०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐन बमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम स्थापना भएका २ वटा, सहकारी ऐन बमोजिम स्थापना भएका १ वटा र संस्थान ऐन बमोजिम स्थापना भएको १ वटा संस्थान रहेका छन् । एक वर्षमा नेपालीको आम्दानी ५१ डलरले बढेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ को आर्थिक सर्वेक्षणले चालू वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५६ अमेरीकी डलर पुग्ने अनुमान गरेको छ ।

यो गत बर्षको भन्दा ५१ डलरले बढी हो । गत वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५ अमेरीकी डलर थियो । पछिल्लो समय प्रतिव्यक्ति राष्ट्रिय आय क्रमश बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष प्रति व्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा ३६ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यस्तै कुल खर्च योग्य आय पनि बढेको छ । चालु वर्ष प्रतिव्यक्ति कुल खर्च योग्य आय १ हजार ८ सय ४३ अमेरीकी डलर पुग्ने अनुमान गरिएको छ । गत वर्ष १ हजार ७ सय ५५ अमेरीकी डलर थियो । गत आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) १ लाख ८१ हजार ५ सय ६९ रहेकोमा चालू आर्थिक वर्ष १ लाख ९१ हजार ८ सय ८८ पुग्ने अनुमान छ ।

चालू आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ५.७ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १४३४ अमेरिकी डलर पुग्ने अनुमान छ ।

यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ

प्रतिक्रिया