सिन्धुपाल्चोकमा बाढी र पहिरोको वितण्डा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बुधबार रातिदेखी परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बितण्डा मच्चाएको छ । बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा आएको बाढीपहिरोले दुई जनाको मृत्यु भएको छ । २१ जना बेपत्ता भएका छन् भने ६ जना घाइते भएको प्रदेश सरकारले जानकारी दिएको छ ।

जम्बुमा पहिरोले एक चिनियाँ नागरिकसहित १८ जना हराइरहेका छन् । दुई जनाको शव भेटिएको छ भने तीन जना घाइतेको उद्धार भएको छ । उता लाम्बोटेमा रहेको नयापुलतर्फ चारजना बेपत्ता छन् भने ३ जना घाइते छन् । बागमति प्रदेश सरकारका अनुसार मृत्यु हुनेमा २४ वर्षिय निकेश बस्नेत र दुई वर्षिय नियोन बस्नेत रहेका छन् । दुवै जनाको शव पहिरो स्थलमा भेटिएको थियो ।

जम्बुतर्फ रहेको घरमा रहेका ७२ वर्षिय, भिम ब. वाइवा, ७० वर्षिया चिनीमाया वाइवा, २९ वर्षीया लिलामाया वाइवा, ८ वर्षीय पाशाङ डोल्मा वाइवा, २ वर्षीया निमा डोल्मा वाइवा, २५ वर्षीय लक्ष्मण वाइवा र १३ वर्षीय सुनमाला वाइवा रहेका छन् । यसैगरी ५५ वर्षीय जनक ब.थिङ, २८ वर्षीया सबिना तामाङ, ४ वर्षीय आकाश तामाङ, ५७ वर्षीय तोक बहादुर तामाङ, ५५ वर्षीय युक्त कु.तामाङ, २५ वर्षीय सुवेस तामाङ, ६५ वर्षीया माइली तामाङ र २२ वर्षीया सलिना तामाङ २२ रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

बाढी र पहिरोले मध्य भोटेकोशीको निर्माणाधिन हाइड्रोपावरको पावर हाउस डुवानमा पर्दा त्यहा रहेका तीन जना पनि बेपत्ता भएका छन् । एक चिनियाँ नागरिकसहित हाइड्रोपावरका सेक्युरिटीगार्ड ३५ वर्षीय हिमेश शर्मा, जाईकाका इन्जिनियर २४ वर्षीय आकास केसी रहेका छन् । बुलकोटे नयापुलमा एकैघरका ४ जना बेपत्ता भएका छन् । ६२ वर्षीय निमा दोर्जे तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ७ वर्षीय साहिल तामाङ र ११ वर्षीय पाशाङ नोर्बु तामाङ रहेका छन् ।

रातको करिव साढे ११ बजे आएको बाढी र लगत्तै आएको पहिरोले सो क्षेत्रका बासिन्दा त्रसित बनेका थिए । थाहा पाउनेहरु बाहिर आएर बाँच्न सफल भएका थिए । बाँच्न सफल भएकाहरुले रातभर आफुहरु नजिकैको ओडारमा गएर बाँचेको बताएका छन् । ‘राति हामी निदाएका थियौं, साढे ११ बजेतिर गड्याङ–गुडुङ ग¥यो’, हिराबहादुर तामाङले रातिको घटना सम्झदै भने, ‘गड्याङ्ग ग¥यो, भूकम्प आएजस्तो भयो । बाहिर निस्किँदा बाढी आएको रहेछ । घरबाट भागेर हामीले आफ्नो ज्यान जोगायौं ।’

बाढीमा परेर आफ्नो घर गुमाएका अर्का पीडित दुर्गाबहादुर लामा पनि त्रसित देखिन्थे । उनले घरनजिकै रहेको ओडारमा पुगेर आफ्नो र बच्चाबच्चीको ज्यान जोगाएका रहेछन् । त्यस्तै पहिरोको चपेटामा आएको भगवती अधिकारीको घरको पनि अहिले कुनै निशान नै छैन । राति सुत्ने बेलासम्म राम्रै रहेको घर रातभरीमा खण्डहरमा परिणत भयो । ‘राति साढे ११ बजे बच्चाबच्ची लिएर नजिकैको पाखो बारीमा रहेको एउटा खाली घरमा गएर बस्यौं र बाँच्यौं । घर गोठ सबै बगाएर लग्यो अहिले छिमेकीको घरमा आश्रय लिएर बस्नुपरेको छ’, निक्कै त्रसित मुद्रामा देखिएकी उनले भनिन् । सिन्धुपाल्चोकको बाह्रबीसेमा गएराति गएको पहिरोले तामाङ, लामा र अधिकारी जस्ता कैयनलाई घरबारविहीन बनाएको छ ।

बाढीपहिरोमा परेर सुवेस तमाङ साइला, बुट्टीमाया तमाङ, सबिना तमाङ बस्नेत, फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी रहेका छन् । उनिहरु सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बाढीपहिरोले त्यस क्षेत्रमा रहेका ३६ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

उसो त सिन्धुपाल्चोक सबैभन्दा बढि प्राकृतिक प्रकोप खेप्नु जिल्ला हो । यहा हरेक वर्ष बाढी पहिरोबाट कयौं मानविय र भौतिक क्षति हुने गरेको छ । भुकम्पका बेला समेत सबैभन्दा बढि यही जिल्ला प्रभावित बनेको थियो । गृह मन्त्रालयका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकले ३० परिवारलाई पुग्ने त्रिपाल, मेट्रेस, भाँडाकुंडा, लत्ताकपडा, कम्बल लगायतका राहत सामग्रीहरु स्थानीय विपद् व्यस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

सरकार हाइअर्लटमा
सरकारले देशका विभिन्न भागमा लगातार भारी वर्षाको सम्भावना देखिएपछि उच्च सावधानीमा (हाई अलर्टमा) रहेको बताएको छ । राज्यको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यमा खटिने मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आवश्यक राहत तथा खाद्य सामग्रीको मौज्दातको अध्यावधिकसमेत गरिएको छ भने उद्धारका कुनकुन सामग्री कहाँकहाँ छन् भनेर सबै यकिन गरिएको छ ।

विपद् व्यवस्थापनकै सम्बन्धमा विहिवार गृहमन्त्रालयमा बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका ७७ वटै जिल्लाका सरोकारवाला निकायलाई आवश्यक तयारीमा रहन र विपद् जोखिम न्यूनीकरणको काममा खटिन आवश्यक निर्देशन दिएका छन् । मौसमविद्का अनुसार विहिवारदेखि चार दिन मुलुकका विभिन्न चार प्रदशेमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया