संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जान्छन् : सिंह

वीरगन्ज । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले संविधान समाप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) जेल जाने टिप्पणी गरेका छन् । वीरगन्जमा पत्रकारहरूसँग कुरा गर्ने उनले सो कुरा बताएका हुन् ।

प्रचण्डमाथि विभिन्न अदालतमा द्वन्द्वकालका ३०० भन्दा बढी मुद्दा रहेको बताउँदै उनले भने, ‘अहिलेको संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जानुहुन्छ । देश चलाउन तीन वटा शक्ति केन्द्रको चलखेल भइरहेको छ ।’
अहिले विदेशी शक्तिको इशारा र निर्देशनमा नेपालको संविधानमाथि प्रहार भइरहेको सांसद सिंहले बताए । संविधानका मुख्य ४ वटै आधारस्तम्भ धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने सिंहले आरोप लगाए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले भने, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदै छ, बाँकी किन चाहियो’, सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा होइन, वास्तवमा शेरबहादुर राणा हो ।’

उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोप पनि लगाए । उनले भने, ‘पैसा उठाउन, गैरकानुनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाइ, भतिजालाई नियुक्ती गरेर राखिएको छ । यो पनि एउटा अपराध नै हो ।’

नेपालको राजनीतिमा अहिले परिवारीकरण, व्यापारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रूपमा नभई व्यपारका रूपमा फस्टाएको टिप्पणी गरे । उनले नेपालमा विदेशी दलालीकरण बढेको बताए ।

प्रतिक्रिया