इटहरीमा उन्नत जातका वोयर बोका वितरण

इटहरी । इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गरेका हुन् ।

करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताए । नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताए ।

उनले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताउनुभयो । वडा नं १७ का अध्यक्ष भगवान्लाल साहुले अब धान र गहुँ खेती गरेर मात्र नहुने भएको कारण कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । इटहरी वोयर बाख्रापालन समूहका अध्यक्ष राजु बस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए ।

प्रतिक्रिया