विराटनगरको शानदार सुरुआत

काठमाडौं । ज्योति पाण्डेको उत्कृष्ट प्रदर्शनमा प्रेरित विराटनगर टाइटन्सले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा ललितपुर फाल्कोन्समाथि ४ विकेटको जित निकाल्दै विराटनगर टाइटन्सले शानदार सुरुआत गरेको हो । १ सय २३ रनको लक्ष्य पच्छाउँदै जवाफी ब्याटिङ थालेको विराटनगरले १६ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । टाइटन्सको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ६५ रन बनाइन् ।

४३ बलको सामना गरेकी ज्योतिले १० चौका र एक छक्का प्रहार गरिन् । सोनु खड्काले २४ रनको योगदान दिइन् । कप्तान सरीता मगर ४ रनमा पवेलियन फर्किंदा अस्मीना कर्माचार्यले १२ रन बनाइन् । लक्ष्मी चौधरीले खाता नै खोल्न नसक्दा डोली भट्टले २, आरती विडारी र यसोदा विष्टले १/१ रन जोडे । ललितपुरका लागि सम्झना खड्काले २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुर फाल्कोन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन बनाएकी थिइन् । करुणा भण्डारीले २३ रनको योगदान दिँदा कृति सेन र सम्झना खड्काले अविजित १३÷१३ रन बनाए । शान्ति चौधरी र रोशनी बोहराले ९/९ रन बनाउँदा कप्तान नेरी थापा ४ रनमा आउट भएकी थिइन् । सरीता मगर र कविता जोशीले १÷१ रन बनाएका थिए । विराटनगर टाइटन्सका लागि आरती विडारी र सवनम राइले १/१ विकेट लिए ।
विजय सुरुआत गरेको विराटनगर टाइटन्सले शुक्रबार बिहान दोस्रो खेलमा पोखरा पल्टनको सामना गर्नेछ ।

प्रतिक्रिया