जनकपुरधाममा बहुभाषिक साहित्यमाथि बृहत् विमर्श सम्पन्न

मधेस ब्युरो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी बृहत् विमर्श सम्पन्न भएको छ । मधेस प्रदेशका मुख्य भाषाहरू मैथिली, बज्जिका, नेपाली तथा हिन्दीमार्फत मधेस प्रदेशको कला, संस्कृति र साहित्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा बृहत् विमर्श कार्यक्रम आयोजना गरिएको थियो ।

सर्लाहीको ब्रह्मपुरीमा स्थायी ठेगाना भई जनकपुरधाम मुख्य कार्यालय रहेको सरस्वती राजनारायण प्रतिष्ठानले मधेस प्रदेशको साहित्य, कला र संस्कृतिसम्बन्धी बृहत् विमर्श गरेको हो ।

जनकपुरधामका चर्चित मैथिली साहित्यकार चन्द्रशेखर रायच मन, जलेश्वरका चर्चित साहित्यकार तथा साहित्य सम्बद्र्धन समितिका संयोजक अजयकुमार झा, मलंगवाका चर्चित साहित्यकार तथा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष तथा साहित्यकार किशुनदयाल श्रीकृष्ण र साहित्यकार सञ्जय साह मित्रको उपस्थितिमा भएको बृहत् विमर्श कार्यक्रममा आगामी आर्थिक वर्षमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा गरी कम्तीमा एक दर्जनभन्दा बढी औपचारिक कार्यक्रम गर्ने निर्णय गरी कार्ययोजना बनाइएको छ । साथै पर्सा र सप्तरी जिल्लामा पनि साहित्य, कला र संस्कृतिको जागरणका लागि विशेष पहल गर्ने सहमति भएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष इन्जिनियर चन्द्रेश्वर रौनियारको सभापतित्वमा भएको कार्यक्रममा भाषा, साहित्य र कलासित सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थासित नियमले मिलेसम्म सहकार्य गरेर आफ्नो मूल संस्कृतिबारे सर्वसाधारणमा जागरण ल्याउने काम गर्ने साहित्य संवद्र्धन समिति महोत्तरीका संयोजक अजयकुमार झाले जानकारी गराएका छन् ।

मुख्यगरी बज्जिका भाषाका साहित्यकारहरूको सहभागिता रहेको भए पनि आगामी दिनमा संस्कृति, कला तथा साहित्यलाई प्राथमिकता राख्ने र कार्यक्रमहरूलाई बहुभाषिक बनाउने संस्थाको कार्ययोजना रहेको संस्थापक रौनियारले बताएका छन् । भाषा केवल अभिव्यक्तिको माध्यम भएकोले अभिव्यक्तिका लागि बहुभाषिकतामार्फत समाजको कला र संस्कृतिलाई उजागर गर्न चाहेको अध्यक्ष रौनियारको भनाइ छ ।

प्रतिष्ठानले गत वर्ष महोत्तरी, सर्लाही र रौतहटमा साहित्य, संस्कृति तथा कलासम्बन्धी विशेष गोष्ठीको आयोजना गरेकोे थियो ।

प्रतिक्रिया