झडपमा परी दर्शनार्थी घाइते

कालिकोट । धार्मिक तीर्थस्थल चुलिमालिकाको दर्शन गर्न गएका दर्शनार्थीहरूमाथि ढुंगा, मुढा प्रहार हुँदा करिब दुई दर्जन बढी तीर्थालुहरू घाइते भएका छन् ।

खाँडाचक्र नगरपालिका–१० चौकीबाट गएको करिब तीन सय जनाको हुलले मन्दिरमा अराजक शैलीले आक्रमण गर्दा बदालकोट, मान्म, राम्नाकोट, दाहाँ, घोडेना लगायतका वस्तीका भक्तजनहरू घाइते भएका हुन् । घाइतेलाई चुलिमालिका मन्दिरदेखि सदमुकाम मान्म र स्वास्थ्यचौकी दाहाँमा उपचार भइरहेको स्थानीयले जनाएका छन् ।

चुलिमालिका मन्दिरका मुख्य पुजारी भीमप्रसाद चौलागार्इं र सहायक पुजारी प्रेमध्वज चौलागाईंले झगडा गर्ने सोच बनाएर आएका चौकीका स्थानीयहरूलाई बारम्बार सम्झाइबुझाई गर्दा पनि पुजारीलाई नटेरेर झगडा गरेका हुन् । शुद्ध मन्दिर चुलिमालिकामा मदिराजन्य पदार्थको सेवन गरी एकआपसमा झैझगडा गरी ढुंगामुढा प्रहार हुँदा दुइ दर्जनभन्दा बढी भक्तालु गम्भीर घाइते भएका छन् । घाइतेलाई स्थानीयले बोकेर स्वास्थ्यचौकी दाहाँ र जिल्ला अस्पताल कालीकोटमा पु¥याएको स्थानीय डिल्लीप्रसाद चौलागार्इंले जानकारी दिएका छन् ।

चुलिमालिकामा सधैंका वर्षमा यसरी नै हुने झडपले धर्मप्रति केहीको आस्था घटेको देखिन्छ । खाडाँचक्र नगरपालिकाले स्थानीय तह नहुनुभन्दा पहिला जिल्लाबाट चुलिमालिकामा सुरक्षाकर्मीहरू जान्थे तर अहिले स्थानीय तह हुँदा जनप्रतिनिधिले सुरक्षाकर्मी नदिँदा मन्दिरमा हुने झगडाले हरेक वर्ष यसरी नै धेरै जना गम्भीर घाइते हुने गरेका छन् ।

चुलिमालिका माईको दर्शन गर्न जाने हजारौँलाई झगडा हुने डरले राम्रोसँग वर पनि नमागी फर्किने गरको स्थानीयले बताउने गरेका छन् । आतंक मच्चाउने मध्ये दुई जनालाई पुजारीहरूको समूहले नियन्त्रणमा लिएको स्थानीय हिरामणी चौलागार्इंले जानकारी दिएका छन् । यसबारे खाडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पाण्डेसँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेको छैन ।

यस तीर्थस्थलमा भक्तजनहरूले सोमबारदेखि यात्रा तय गरेका थिए । चुलीमालिका समुद्री सतहदेखि १७ किलोमिटर को उचाइमा पर्दछ । उकालो बाटो, बर्खाको समय, जंगली जनावरको डर मनमा भए पनि तिर्थालुहरूले मनले सोचेको पूरा हुन्छ भन्दै चुलीमालिकातर्फ जाने गर्दछन् । नवदुर्गामाईको मन्दिरमा ढोग गर्ने तीर्थालुहरूले हरेक वर्ष यसरी नै तीर्थधाम गर्दछन् । दैलेख, अछाम, सुर्खेत, जाजरकोट, हुम्ला, जुम्ला लगायतका नेपालका अधिकांश जिल्लाका तीर्थयात्री यहाँ आउने गर्दछन् ।

प्रतिक्रिया