‘जनताले राजसंस्थाको भूमिका खोजिरहेका छन्’

भैरहवा, २० असार । धार्मिक भ्रमणका सिलसिलामा रूपन्देही आएका पूर्वराजा ज्ञानेन्द्रले देशभरका जनताले राजसंस्थाको भूमिका खोजिरहेको बताएका छन् । आफूले नारायणहिटी छाडेको चार वर्षमा देश गम्भीर संकटमा पुगेको उनको भनाइ छ ।

‘जनताले अहिले हाम्रो भूमिका केही न केही खोजेका छन्,’ भैरहवामा पत्रकारमाझ शाहले भने, ‘धैर्य गरौँ, केही समयमै हाम्रो भूमिकाबारे जनताले नै भन्नेछन् ।’ राजसंस्थाको भूमिका कस्तो हुने भन्ने कुराको छनोट जनताले नै गर्ने उनको भनाइ छ । राजसंस्था वहिर्गमनपछि जनताले कुनै उपलब्धि पाउन नसकेको पनि शाहले बताए ।
मुलुक अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै पूर्वराजाले संकटको समाधान अब नयाँ शक्तिले गर्ने दाबी गरे । नयाँ शक्ति राजतन्त्र हुने भनेर जनताले नै व्यक्त गरिरहेको उनको भनाइ थियो । ‘नयाँ शक्तिको उदय हुनुपर्छ, त्यो भनेको परम्परागत राजसंस्था पनि हुनसक्छ वा अरू केही,’ उनले भने । आफूले नारायणहिटी छाड्दा भन्दा अहिले मुलुक गम्भीर र अप्ठेरो अवस्थामा पुगेको भन्दै शाहले मुलुकलाई जोगाउन नयाँ शक्तिको उदय अवश्यम्भावी रहेको दोहोर्‍याए ।
नेताहरू विदेशीको इसारामा चल्दा अहिले मुलुकमा भयावह समस्या आएको उनको आरोप छ । ‘नेताहरू स्वचालित नभएर परिचालित भएजस्तो लाग्छ,’ उनले भने । जनआन्दोलन ०६२/०६३ का बेला दलहरूसित लिखित सहमति भएको दाबी गर्दै शाहले त्यो के सहमति थियो भन्नेचाहिँ समयक्रममा थाहा हुने बताए ।
‘मुलुकको बिग्रँदो अवस्थाबीच राजनीतिमा आउने सोच बनाउनुभएको
हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले त्यो सम्भावना नरहेको उल्लेख गरे । ‘म राम्रो राजनीतिज्ञ हुन सक्तिनँ, राजाकै रूपमा ठीक छु, यहाँभन्दा तल किन झर्ने ?’ शाहले प्रतिप्रश्न गरे । पत्रकारसित खुलस्तरूपमा प्रस्तुत भएका पूर्वराजा मुस्कुराउँदै प्रश्नहरू ध्यानपूर्वक सुनिरहेका थिए ।
मुलुक अहिले एकतामा बाँधिन नसकेको भन्दै पूर्वराजाले गम्भीर हँदै भने, ‘देशलाई कुनै हालतमा टुक्राटुक्रा पार्न दिनुहँुदैन ।’ अहिले विविधताले भरिएको सुन्दर मुलुकमा जातजातिको कुरा आएको भन्दै उनले असन्तुष्टि जनाए । ‘नेपाली–नेपाली फुट्यौँ र नेपाली–नेपालीलाई फुटाउने खेल भयो भने यसले सिंगो नेपालको राष्ट्रिय संरचनालाई रक्षा गर्दैन,’ पूर्वराजाले भने, ‘विविधतालाई एकतामा राख्ने खुबी हामीमा छ ।’
पाँच वर्षअघि छाड्दा स्वतन्त्र एवं अखण्ड नेपाल आफूले चाहेको र नेपालमै बसेर मातृभूमिको बृहत्तर हितमा समर्पित रहने पत्रकारलाई बताएको शाहले स्मरण गरे । अहिले राष्ट्रियताको भावना निरन्तर स्खलित भएको उनको गुनासो थियो । ‘नेपाली जनतामा अहिले घोर कुण्ठा, निराशा र द्वन्द्व खडा भएको कटु अनुभूति मलाई भएको छ,’ उनले भने । पत्रकारसँगको कुराकानीमा पटक–पटक जनताले राजसंस्थाको भूमिका खोजेको बताएका पूर्वराजाले राजसंस्था वहिर्गमनपछिका पाँच वर्ष विडम्बनापूर्ण भएको टिप्पणी गरेका थिए ।
तीन दिनदेखि बसिरहेको भैरहवास्थित निर्वाणा होटलमा पत्रकारसित पूर्वराजाले बेलुका करिब एक घन्टा बिताए । बुटवल, भैरहवा, कपिलवस्तु र नवलपरासीका पत्रकारसित उनले छुट्टाछुट्टै प्रश्नोत्तर गरेका थिए । सबैसित पटक–पटक दोहोर्‍याए, ‘जनताले हाम्रो भूमिका खोजेका छन् ।’
पत्रकारलाई दिएको ककटेल पार्टीका क्रममा पूर्वराजाले हातमा नेप्किन पेपरले छोपेको वाइनको गिलास लिएर मुस्कुराउँदै पूर्वराजाले पत्रकारहरूसित ठट्टा पनि गर्न भ्याए । आफ्ना अंगरक्षक, केही समर्थक र शुभेच्छुकसहित प्रस्तुत भएका उनी सामान्य कुर्ता सुरुवाल, ढाकाटोपी र इस्टकोटमा सजिएका थिए । प्लास्टिकको सामान्य कुर्सीमा बसेर उनले पत्रकारसित सवालजवाफ गरेका थिए ।

ककटेल पार्टीमा जे देखियो
भैरहवा : भैरहवामा मंगलबार बेलुका पत्रकारसित भेटघाट तय भएपछि उनका सहयोगीले तीन जिल्लाका पत्रकारको लिस्ट बनाउँदै पालैपालो फोन गरी निम्ता गरे । ‘बेलुका खाना खानेगरी सरकारको भेटघाटको निम्तो छ, पाल्नुहोला है’ भन्दै निर्वाणा होटलबाट दिउँसो फोन आएको थियो । निम्तामा परेका तीन जिल्लाका करिब सय पत्रकार बेलुका सात बजे होटलको चौरमा पुगे ।
पत्रकार जुटिनसक्दै विभिन्न प्रकारका स्न्याक्स वितरण हुनथालेका थिए । लगत्तै ककटेल पार्टी पनि सुरु भयो । त्यसैबीच भित्रबाट मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्र पत्रकार भएको ठाउँमा आएर भने, ‘तपाईंहरूले केही खानुभयो कि नाइँ ?’
पत्रकारहरू फोटो र भिजुअल खिच्न हानाथाप गरिरहेका बेला उनले भने, ‘बरु गु्रप–गु्रप गरौँ, सजिलो होला ।’ त्यसै गरियो । तीन जिल्लाका चार समूहमा पत्रकारहरू बाँडिएपछि उनले पालैपालो समय दिए । करिब एक घन्टासम्म हातमा वाइनको गिलास लिँदै उनी समूह–समूहमा कुरा राखेर बिदा हुनै लाग्दा केही पत्रकारले झ्याप्पै छोपेर भने, ‘लौन, सँगै फोटो खिचौँ ।’ पूर्वराजाले पनि ‘हुन्छ, छिटो गरौँ’ भन्दै भिडमा उभिए ।
पूर्वराजालाई प्रश्न सोध्दा पनि पत्रकारमध्ये कसैले सरकार, कसैले महाराज भनेर सम्बोधन गरेका थिए । पार्टी चलिरहँदा उनी पत्रकारलाई ‘राम्रोसँग खानुहोला, गुडनाइट’ भन्दै आफ्नो कोठातिर गए ।

प्रतिक्रिया