नमोबुद्धमा साहित्य गोष्ठी

काभ्रे । नमोबुद्ध गुम्बा घुमेको भोलिपल्ट काभ्रेको नमोबुद्ध नगरपालिका भकुण्डेबेँसीमा कवि लेखकहरूले थुप्रै विषयका कविता सुनाए । कवि अभय श्रेष्ठ ‘सत्यलाई साक्षी’ सुनाइरहेका थिए भने कवि राजु स्याङ्तान ‘रामबहादुर मार्ग’ कविता सुनाइरहेका थिए । छन्द दिवसको अवसरमा काभ्रेमा सम्पन्न भएको ‘नमोबुद्ध साहित्य गोष्ठी’ मा कविता वाचनसहित साहित्यका विविध विषयमा छलफल भयो ।

नगर प्रमुख टंकप्रसाद तिमिल्सिनाको सभाध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा साहित्यका विविध विधामा छलफल तथा अन्तक्र्रिया भएको थियो । काभ्रेली साहित्यको अवस्थामाथि छलफल गर्दै रोशी वाङ्मय प्रतिष्ठानको उत्थानका लागि पहल विषयक कार्यक्रममा छन्द दिवसको अवसरमा सो साहित्यिक गोष्ठी गरिएको नगरपालिकाका प्रमुख मेयर टंकप्रसाद तिमिल्सिनाले बताएका छन् । उनले जनताको चेतनाको विकासका लागि साहित्य मात्रै पहिलो बाटो भएको र यसको विकासका लागि आफूले आफ्नो क्षेत्रमा साहित्य , सांस्कृतिक र कला विधालाई विकास गर्न जस्तोसुकै काम गर्न पनि तत्पर रहेको बताएका छन् । काभ्रेको नमोबुद्ध गुम्बा परिसर परिभ्रमणसँगै भकुण्डे बेँसीमा अतिथि साहित्यकारहरूलाई आयोजक संस्थाले स्वागत गरेको थियो । आइतबार गरिएको कार्यक्रममा दुई सत्रहरू तयार गरी विभिन्न साहित्यिक विधाहरूको विषयमा छलफल गरिएको थियो ।

‘समकालीन नेपाली आख्यानका प्रवृत्ति’ विषयमा निबन्धकार तथा पत्रकार दीपक सापकोटाले छलफल चलाए । आख्यानबारे वक्ताहरू विप्लव प्रतीक, रेशम विरही, नवीन विभासले आफ्ना धारणा राखेका थिए । युवा पुस्ताले लेखिरहेका आख्यानको शैली, शिल्प, कथ्य र शक्ति कस्तो छ भन्ने विषयमा उक्त सेसनमा छलफल गरे । छलफलमा बोल्दै वक्ता रेशम विरहीले आजका पुस्ताले लेखिरहेका आख्यानमा आशा गर्ने ठाउँ हुँदाहुँदै पनि लेखन कमजोर रहेको टिप्पणी गरे । अर्का वक्ता विप्लव प्रतीकले आफूलाई ठीक लागेको विषय र सन्दर्भमा आफूले लेख्ने गरेको बताए । उनले कुनै पनि विधामा लेख्नु मात्रै राम्रो नभएर व्यावहारिक रूपमा मोह, लोभ, त्याग र समर्पणजस्ता दृष्टिलाई व्यावहारिक रूपमा कसरी उतार्ने गर्छ भन्ने अर्काे मुख्य गुण साहित्यिक विधामा होमिने व्यक्तिमा हुनुपर्ने तर्क गरेका छन् ।

नवीन विभासले आजको पुस्ता सामाजिक सञ्जालको उपयोगभन्दा पनि यसले अल्छिपना र पठन संस्कृतिमा र कुनै पनि विषयमा हिजोका दिन जसरी मिहिनेत गर्न छोड्दै गरेको अवस्थालाई आफूले स्वीकार गर्नुपर्ने बताएका छन् । यस्तै, समकालीन नेपाली कवितामाथि अभय श्रेष्ठ, विप्लव प्रतीक, भुवनहरि सिग्देल र रमन पौडेललाई फणिन्द्र संगमले प्रश्न गरेर बहस गरेका थिए । बहसका क्रममा विप्लप प्रतीकले छन्द र कविताको युग सकिएको भन्ने अभिव्यक्ति दिएका रमन पौडेललाई कतिपय कविता अझै नछापिएको व्यक्तिहरू बाँकी रहेको र उनीहरूलाई अझै चिन्न नसकिएकोले अन्तर्राष्ट्रियस्तरमा नेपाली कविताको बहस हुन नसकेको भन्दै कविता विधामाथि बचाउ गरेका थिए । यस्तै, कार्यक्रममा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार मोहन दुवाल, हरि मञ्जुश्रीलगायतले कार्यक्रममा साहित्यका कविता विधा र छन्दको सवालबारे मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लाको लोकप्रिय लोकगायक मच्छेश्वर सापकोटा दम्पतीले गीत गाएका थिए ।

छलफलका क्रममा भोलाप्रसाद चापागार्इं प्रमुख प्रशासकीय अधिकृतले यो कार्यक्रम निकै अगाडिबाट गर्नुपर्ने तर्क गरेका थिए । कार्यक्रममा भुवनहरि सिग्देल साहित्यकार एवं उपन्यासकार, विप्लव प्रतीक साहित्यकार तथा कवि, गीतकार तथा उपन्यासकार रेशम विरही, राम बहादुर पहाडी, कवि तथा साहित्यकार, नवीन विभास साहित्यकार तथा पत्रकार, दीपक सापकोटा निबन्धकार, साहित्यकार तथा पत्रकार, राजु स्याङ्तान कवि तथा पत्रकार, फणीन्द्र संगम कवि तथा पत्रकार, अभय श्रेष्ठ कवि, कथाकार तथा पत्रकार, रोशन पुन, कवि रमन पौडेल साहित्यकार तथा पत्रकार, नरेन्द्र कुमार नगरकोटी कवि तथा साहित्यिक पत्रकार, पलपल दाहाल, सजना आचार्य, समर्पण श्री, डा. गोपाल पौडेल मण्डललगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया