रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

‘हामीले रिक्त दरबन्दीको विवरण संकलन गरेका छौँ, उनले भने, ‘हामी एकदुई दिनमा आयोगलाई विवरण पठाउँछाैँ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ ।

आगामी ३१ असोजबाट आयोगले नयाँ पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यतालिका भए पनि मन्त्रालयले विवरण उपलब्ध गराउन ढिलाइ गरेको आयोगका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए । मन्त्रालयका ढिलाइका कारण पदपूर्तिका लागि रिक्त पदमा विज्ञापन गर्नसमेत समस्या पर्ने भएको छ ।

७ असोजभित्र पदपूर्ति गर्नुपर्ने विवरण आयोगमा पठाउनुपर्ने भए पनि अझै नपठाएको उनले बताए । ‘हाम्रो वार्षिक कार्यतालिकाअनुसार विज्ञापन गर्नका लागि विवरण पठाउन पटकपटक मन्त्रालयलाई आग्रह गरेका छैँ,’ उनले भने, ‘तर अहिलेसम्म विवरण पठाएका छैनन् ।

मन्त्रालयले बिहीबारसम्म पनि विवरण नपठाए विज्ञापन गर्न सक्दैनाैँ ।’ आयोगले सामान्य प्रशासन, स्वास्थ्य सेवा, संसद् सेवा र न्याय सेवाका परीक्षा लिई सरकारलाई योग्य उम्मेदवार सिफारिस गर्ने गरेको छ । आयोगमा अहिलेसम्म न्याय सेवा आयोगले मात्र सो सेवामा रिक्त पदपूर्तिको लागि विवरण उपलब्ध गराएको उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार यही ३१ असोजबाट आयोगले सरकारी निकायका विभिन्न पदका लागि विज्ञापन गर्ने कार्यतालिका रहेको छ । साउनमा प्रकाशित आयोगको कार्यतालिकाअनुसार ३१ असोजमा सहसचिव र उपसचिवको विज्ञापन गर्ने योजना रहेको छ । आयोगले बर्सेनि सरकारबाट नियुक्त हुने विभिन्न पदको परीक्षा सञ्चालन गरेर नियुक्तिका लागि सिफारिस गर्ने गरेको छ । उपसचिव सुवेदीका अनुसार बर्सेनि करिब आठ हजार कर्मचारीका लागि आयोगले परीक्षा लिने गर्दछ ।

मुलुक संघीयतामा गइसकेपछि गत वर्ष मन्त्रालयले एकात्मक संरचनामा दरबन्दी पठाएकाले आयोगले पनि पुरानै संरचनामा विज्ञापन गरेको थियो । ‘गत वर्ष एकात्मक संरचनामा हामीले विज्ञापन गरेका थियाैँ,’ उपसचिव सुवेदीले भने, ‘अहिले पनि मन्त्रालयले जस्तो संरचनामा दरबन्दी विवरण पठाउँछ, त्यसैगरी विज्ञापन गर्नेछौँ ।’ सरकारले संघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले विवरण तयार भइसकेकाले चाँडै नै आयोग पठाउने जानकारी गराए ।

‘हामीले रिक्त दरबन्दीको विवरण संकलन गरेका छौँ, उनले भने, ‘हामी एकदुई दिनमा आयोगलाई विवरण पठाउँछाैँ।’ यसैगरी, आयोगका सचिव गुरुङले प्रदेश लोकसेवा गठन नहुँदासम्म आफूहरूले नै प्रदेश र स्थानीय तहको आवश्यक कर्मचारीको विज्ञापन गरी उम्मेदवार सिफारिस गर्ने बताए ।

कर्मचारी समायोजन ऐन २०७४ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नहँुदासम्म प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीको रिक्त पदमा प्रदेश र स्थानीय तहले सरकारमार्फत माग गरेको पदपूर्तिको लागि उम्मेदवार सिफारिस आयोगले गर्न सक्ने उल्लेख गरिएको छ । प्रदेश लोकसेवा ऐनको मस्यौदा आयोगले बनाएर छलफलका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ । संविधानमा प्रदेश लोकसेवा आयोग गठन प्रदेशसभाबाट गरिने उल्लेख छ ।

प्रतिक्रिया