चन्दा उठाएर सशस्त्र बेसक्याम्प

इलाम, १७ जेठ । बाँझोस्थित चिसापानी बजारमा सर्वसाधारणले चन्दा संकलन गरेर गाउँमा सशस्त्र प्रहरीको बेसक्याम्प खडा गरेका छन् ।
बाँझो, इभाङ, गजुरमुखी, साकफारालगायत गाविसका सर्वसाधारणले १० हजारदेखि २० हजार रुपियाँसम्म चन्दा उठाएर गाउँमा सशस्त्रको क्याम्प राख्न सहयोग गरेका हुन् । सर्वसाधारणले चन्दाबाट जुटाएको १५ लाख रुपियाँको लागतमा बाँझोको चिसापानी पञ्चमी बजारमा बेसक्याम्प खडा भएको छ ।
इलाम र पाँचथरका दुई दर्जनभन्दा बढी गाविसका सर्वसाधारणको किनमेलको थलो चिसापानी बजारमा सुरक्षा अवस्था कमजोर भएको भन्दै बेसक्याम्प राख्न सर्वसाधारणले सहयोग गरेको सशस्त्रका इन्स्पेक्टर विष्णुहरि घिमिरेले बताए ।
विभिन्न भूमिगत संघसंगठनले आपराधिक गतिविधि गर्ने र काठ चोरी तस्करीका घटना बढेपछि स्थानीयले सशस्त्रको बेसक्याम्प खडा गर्न माग गर्दै आएका थिए । बजार व्यवस्थापन समितिका सचिव हेमन्त राईले भने, ‘धेरै लामो समयदेखि यस क्षेत्रमा क्याम्प राख्न माग गरेका थियाँै, अहिले सबै एकैसाथ जुटेकाले सफल भइयो ।’
सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले चन्दाकै रकमबाट बाँझो–५ मा तीन रोपनी जग्गा किनिदिएका छन् । साथै, स्थानीय माङ्मालुङ चिया बगान लिमिटेडले समेत पाँच रोपनी जग्गा बेसक्याम्पलाई उपलब्ध गराएको छ । गाउँको सुरक्षाका लागि स्थानीयले सशस्त्र बेसक्याम्पका लागि तीनवटा भवन, शौचालय, खानेपानी र भाँडाकुँडासमेत जोहो गरिदिएका छन् । क्याम्पमा इन्स्पेक्टर घिमिरेको नेतृत्वमा ३४ जनाको टोली रहेको छ ।
क्याम्पका लागि विभागबाट हतियार, तारबारका लागि तार र कपडाहरूमात्र उपलब्ध भएको इन्स्पेक्टर घिमिरेले बताए । उनले भने, ‘क्याम्पका लागि गर्नुपर्ने सबै सहयोग स्थानीयले गरेका हुन्, हामीले त भवनलगायत अन्य संरचना निर्माण गर्दा श्रममात्र खर्चिएका छौँ ।’
चिसापानी पञ्चमीका व्यापारी, सर्वसाधारणले बेसक्याम्पसम्म सहज रूपमा पुग्नका लागि पाँच सय मिटर सडकसमेत खनिदिएका छन् । बाँझोको चिसापानी, फिक्कल र दानाबारीमा सशस्त्र प्रहरीका क्याम्प रहेका छन् ।
चुरे क्षेत्रका नागरिकको शान्तिसुरक्षाका लागि ०३४ सालमा चिसापानीमा प्रहरी चौकी स्थापना गरिएको थियो । चौकीमा असई वैद्यनाथप्रसाद यादवको नेतृत्वमा नौ प्रहरी कार्यरत छन् । थोरै प्रहरी भएकै कारण १५ साउन ०६६ मा लिम्बुवान स्टेट फोर्सका नाममा एक समूहले प्रहरीलाई नियन्त्रणमा लिनुका साथै सञ्चार सेट लुटेर चौकीमा तोडफोड गरेका थिए । द्वन्द्वकालमा विस्थापित चौकी शान्ति स्थापनापछि ०६३ मा पुन: स्थापना गरिएको थियो ।

प्रतिक्रिया