एसीसी प्रिमियर कप : साउदीलाई हराउँदै नेपाल अपराजित सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको नेपाल र साउदी अरेबियाबीचको खेलमा नेपालले साउदीलाई ६ विकेटले हराएर अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । ओमानमा जारी यस प्रतियोगिताअन्तर्गत समूह ‘ए’ बाट सबै चार खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नटआउट रहे भने कप्तान रोहित पौडेल पनि ७ बलमा एक चौका र एक छक्कासहित १६ रनमा नटआउट रहे ।

ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २–२ रनमा आउट भए । एक समय २–२ ओभरमा १५–३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौकासहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।

त्यसअघि अलअमरेत क्रिकेट ग्राउण्ड–२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । मंगलबार राति वर्षाको कारण मैदान समयमै खेल्न तयार नहुँदा खेल ८–८ ओभरको भएको थियो ।

यसअघि साउदीका लागि ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाएका थिए । अन्य कुनै पनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जिसी र ललित राजवंशीले १–१ विकेट लिए ।

नेपाल समूह ‘ए’ बाट नेपालको जितले हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले शुक्रबार समूह ‘बी’ को उपविजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी–२० एसिया कप खेल्न पाउने छ । त्यसैगरी शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया