हैदरावादको सनसनीपूर्ण जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको सनसनीपूर्ण ब्याटिङ जारी छ । आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)लाई २५ रनले हरायो ।

टस जितेर सुरुमा हैदरावादलाई ब्याटिङको निम्तो दिएको आरसिबीले २८८ रनको चुनौती पाएको हो । विशाल लक्ष्य पछ्याउने क्रममा आरसिबीले ७ विकेटको क्षतिमा २६२ रन बनायो ।
चुनौतीपूर्ण लक्ष्य पछ्याएको आरसिबीका लागि दिनेश कार्तिकले सर्वाधिक ८३ रन बनाए । ३५ बलको सामना गरेका उनले ५ चौका र ७ छक्का प्रहार गरेका हुन् । कप्तान फाफ डुप्लेसिस ६२ रन बनाउँदा विराट कोहली ४२ मा आउट भए । महिपाल लोमर १९ रनमा आउट हुँदा अनुज रावत २५ र विजयकुमार विशाक १ रनमा नटआउट रहे ।

कप्तान प्लेसिसले २८ बलमा ६२ रन प्रहार गरे । उनले ७ चौका र ४ छक्का प्रहार गरे । हैदरावादका कप्तान प्याट कुमिन्सले ४ ओभरमा ४३ रन खर्चिंदै ३ विकेट लिए । उसका लागि मयंक मार्कण्डेले २ तथा टी नटराजनले १ विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो । हैदरावादका टेभिस हेडले ४१ बलमै सर्वाधिक १०२ रन बनाए । उनले ९ चौका र ८ छक्क हान्दै गर्दै रोचक शतक प्रहार गरेका हुन् । उनी खेलका म्यान अफ द म्याचसमेत घोषित भए ।

हैदरावादका लागि हेनरिक क्लासेन ६७ र अभिषेक शर्माले ३४ रन जोडे । पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए । एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा नटआउट रहे । आरसिबीका लकी फर्गुसनले २ विकेट लिए भने रिस टोपले १ विकेट लिए । टोप्लीले ४ ओभरमा ६८ रन खर्चे ।

जितसँगै चौथो स्थानमा रहेको हैदरावादको ६ खेलबाट ८ अंक बनाएको छ । २ अंकसहित आरसिबी भने तालिकाको पुछारमा छ । ७ खेल खेलको आरसिबीले एउटा मात्र खेल जितेको छ ।

म्याक्सवेल आइपिलबाट टाढा

अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् । आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलोरको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।

खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नुपरेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ–११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ–११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैँले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए । म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् ।

म्याक्सवेलले भने, ‘म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफँैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नका लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।’

म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलोपटक भने होइन । अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरूलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् । म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५ दशमलव ३३ को औसत र ९४ दशमलव १२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

प्रतिक्रिया