‘बुलाकी’ को ट्रेलर

काठमाडौं । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य एक महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तु वरपर घुमेको चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको यस चलचित्रको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा पारिवारिक मतभेदका कारण आउने समस्यालाई देखाइएको छ । जसमा बदलाको कथालाई उधिनिएको छ । पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयसँगै ट्रेलर सकिएको छ ।

कर्णालीको परिवेश, आञ्चलिकता र भूगोलमा छायांकन गरिएको चलचित्रले स्थानीय महिलाको यथार्थ पक्षलाई कलात्मक रुपमा चित्रण गर्ने कोसिस गरेको छ । लक्ष्मण सुनारको निर्देशन गरेको ‘बुलाकी’ जारी प्रथामा आधारित छ । टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रमा अभिनेत्री पन्तसँगै विराज विष्ट, रमेश बुढाथोकी, नरेन खड्का, सुशिल पोखरेल, लक्ष्मी गिरी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सोनु सेढाई, सरस्वती खत्री लगायतका कलाकारको अभिनय छ । राजबहादुर सानेको कथा रहेको यस चलचित्रको पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन् । शिव ढकालले खिचेको चलचित्रलाई अर्जुन जिसी र निर्देशक सुनारले सम्पादन गरेका हुन् । निर्माण पक्षका अनुसार यो चलचित्र वैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यही मितिमा ‘बिहे पास, जारी र नाईं न भन्नू ल ६’ प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया