उपनिर्वाचन : इलाम- २ मा उम्मेदवारले गरे मतदान

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी माबि शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया