नौ अभिनेत्री सम्मानित

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका नौ अभिनेत्रीलाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्को संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सम्मान गरेका हुन् । सम्मानित हुनेमा अभिनेत्री भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापा रहेका छन् ।

उपराष्ट्रपति पुनले सम्मानित सबै अभिनेत्रीलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गरे । उनले कला र संस्कृतिले देशको पहिचानलाई उँचो पार्ने भएकाले कलाकारको सम्मानले यस क्षेत्रमा काम गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो सम्मानले तपाईंहरूको कलाकारिता अगाडि बढाउन अझै मद्दत गर्ने विश्वास मलाई छ । दसैँको सुरुआतमा नारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ ।’ आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली चलचित्रलाई प्रतिनिधित्व गर्ने अभिनेत्रीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् ।

उनले भनिन्, ‘उहाँहरूको कलाकारिता र योगदानलाई मूल्यांकन गरेर सम्मान प्रदान गरेका हौँ । यहाँ लोकप्रियताले प्रभाव पारेको छैन ।’ सम्मानित अभिनेत्री ऋचा शर्माले सम्मानले आफूहरूलाई ऊर्जा मिल्ने बताइन् । उनले भनिन्, ‘यहाँ अग्रज भारती दिदीदेखि सुहानासम्म सम्मानित हुनुभएको छ । मलाई दायित्व थपिएको समेत महशुस भएको छ । विनाप्रतिस्पर्धा पाइने यस्ता सम्मानहरुले छुट्टै ऊर्जा मिल्छ ।’ कार्यक्रममा आयोजक शहीद फिल्मस्की विमला केसीले कला र संस्कृतिको जर्गेना गर्ने र कलाकारमा ऊर्जा भर्ने लक्ष्यका साथ सम्मान अभिनेत्रीलाई गरिएको बताइन् । उनले भनिन्, ‘नेपाली चलचित्र जगत्मा योगदान दिएका कलाकारको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

यसले काम गर्ने स्रष्टामा ऊर्जा भर्ने विश्वास हामीले लिएका छौं ।’ केसीले नेपाली चलचित्र क्षेत्रमा महिला कलाकारको योगदान विशिष्ट रहेको जनाउँदै कलाकारितामा समेत उनीहरुले अब्बल काम गरेको जिकिर गरिन् ।

प्रतिक्रिया