रिलिजको प्रतिक्षामा यी ३ फिल्म

काठमाडौं । अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार वैशाखमा तीन नयाँ फिल्म प्रदर्शन हुदैछन् । ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘खजुरे ब्रो’ प्रदर्शनको तयारीमा छन् । १४ वैशाखमा बोक्सीको घर’, प्रदर्शन हुनेछ । २१ वैशाखमा ‘मनसरा’ र २८ वैशाखमा ‘खजुरे ब्रो’ प्रदर्शन हुँदै छन् ।

वैशाखमा रिलिज हुन लागेका तीन वटै फिल्मका कथा मौलिक छन् । ‘बोक्सीको घर’ महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको कथामा आधारित छ ।

पछिल्लो समय रिलिज भएका अन्य फिल्मभन्दा सो फिल्म फरक रहेको जनाइन्छ । फिल्मले समाजमा रहेको बोक्सी अन्धविश्वासलाई चिर्नेे निर्माता केकी अधिकारी बताउँछिन् । फिल्म ‘मनसरा’ले पनि हाम्रो समाजकै कथा भन्न खोजेको छ । फिल्मले एक विवाहित ब्राह्मण पुरुष र लिम्बु महिलाबीचको प्रेमकथा पस्केको छ ।

एउटा विवाहित पुरुष अन्य महिलासँग किन लोभिन्छ, त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने फिल्मले देखाउनेछ । ‘मनसरा’ सामाजिक यथार्थमा आधारित रहेर बनेको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा बताउँछन् । सुब्बाले यसअगाडि पनि लिब्बु समुदायको कथामा फिल्म ‘जारी’ बनाएका थिए ।
त्यस्तै, ‘खजुरे ब्रो’ धरानको जनजीवनको सेरोफेरोमा आधारित कथा हो । धरान आसपासका क्षेत्रमा खजुरे ब्रो नामका एक पात्र चर्चित थिए, जसको अहिले निधन भइसकेको छ । सहयोगी र रमाइला ती पात्रको गहिरो छाप धरानलगायत आसपासको स्थानमा अझै छ ।
दर्शकको नजरमा खजुरे पात्र जीवित राख्न फिल्म निर्माण गरिएको निर्माण युनिटले बताउँदै आएको छ ।

नेपाली फिल्मका अधिकांश निर्माता तथा निर्देशकले राम्रो कथावस्तु खोज्नभन्दा स्टारको पछि लागेर धेरै समय बिताउँछन् । स्टार कलाकार भए फिल्मको प्रचारदेखि चलाउन सजिलो हुने उनीहरूको बुझाइ जो रहेको छ । पछिल्लो समय धेरै स्टारको फिल्म फ्लप भए पनि उनीहरूकै पछि दौडिने क्रम बढ्दो छ । अहिले रिलिजको तयारीमा रहेका यी फिल्ममा परिचित स्टार र नाय कलाकारको मिश्रण छ । ‘बोक्सीको घर’मा चलेकी कलाकार केकी अधिकारी छन् । फिल्ममा केकीका अलावा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सबिन बास्तोला लगायतको अभिनय छ ।

सुलक्षण भारतीको लेखन निर्देशन रहेको फिल्मका निर्माता बद्री अधिकारी हुन् । टिफल्क फिल्म्सले फिल्मको वितरण गर्दै छ । ‘मनसरा’ दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म हो । यी दुवै पछिल्लो समय चलेका स्टार हुन् । यी दुवैको फिल्म लगातार हिटसमेत भएका छन् । दयाहाङ र मिरुनाका अलावा प्रवीण खतिवडा र मेनुका प्रधानको पनि यस फिल्ममा अभिनय छ । प्रवीण र मेनुका पनि परिचय बनाइसकेका कलाकार हुन् । मनसरामा यिनीहरूका अलावा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणि सापकोटा लगायतको अभिनय छ । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस फिल्म शैलेन्द्रध्वज कार्कीले निर्माण गरेका हुन् ।

‘खजुरे ब्रो’मा केही नयाँ र केही पुराना कलाकार छन् । यस फिल्ममा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनीष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिलाल तामाङ, पवन लिम्बु, दीपचन्द्र राई लगायत कलाकारको अभिनय छ ।
सुरज सुनुवार निर्देशित कमेडी जनराको फिल्म ‘खजुरे ब्रो’बाट मोडल नीति शाह अभिनयमा डेब्यु गर्दै छिन् । नवीन मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको यस फिल्मलाई आरआर फिल्म्स्ले वितरण गर्दै छ ।

प्रतिक्रिया